तपाईँ सुन्दै हुनुहुन्छः

अध्यागमन विभागका १३ जनाविरुद्ध मुद्दा दायर 

अध्यागमन विभागका १३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । श्रम स्वीकृति प्रदान गर्न रोक लगाइएका घरेलु कामदार लगायका पेशमा गैरकानूनी आर्थिक लाभ लिएर कतार र युएई लगायतका मुलुकहरुमा भिजिट भिसामा प्रस्थान अनुमति प्रदान गर्ने अध्यागमन विभागका १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

विचौलियासँगको मिलेमतोमा २४८ जनाबाट प्रतिव्यक्ति १० हजारका दरले २४ लाख ८० हजार रुपैयाँ लिएर प्रस्थान अनुमति दिएको पुष्टि भएकाले निजहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत कमल प्रसाद पराजुली, मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाँई, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपानेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

सोही प्रकरणमा संलग्न देखिन सक्ने अन्य शंकास्पद व्यक्तिहरुमाथि पनि थप अनुसन्धान जारी रहेको अख्तियारद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button