तपाईँ सुन्दै हुनुहुन्छः

नीतिगत तथा प्रशासनिक झन्झट अन्त्य गर्न कर्णालीका उद्योगीहरूको माग

सुर्खेत । १२ औँ राष्ट्रिय उद्योग दिवस कर्णाली प्रदेशका दश वटै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

आज उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले वीरेन्द्रनगर स्थित लघुग्राममा सरोकारवाला निकाय र निजी क्षेत्रको सहभागितामा अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना गरी उद्योग दिवस मनाएको हो । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मनाइएको दिवसको अवसरमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत तथा प्रशासनिक झन्झट अन्त्य गर्न उद्योगीहरूले सरकारसँग माग गरेका छन् । 

सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले औद्योगिक वातावरण सुधार गर्दै उत्पादन र उद्यमशीलताको विकासमार्फत दिगो अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश तथा स्थानीय सरकारलाई छुट्टाछुट्टै कर तिर्नुपर्ने झन्झटिलो बाध्यताले कर्णालीका उद्यमी तथा व्यापारीलाई सकस बनाइरहेको बताउनुभयो । लघु औद्योगिक ग्राम सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले उद्योग क्षेत्रको विकास, लगानीमैत्री वातावरण निर्माणका लागि उद्योगी व्यवसायीले भोग्दै आएका नीतिगत, प्रशासनिक तथा पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्थानीय वस्तुहरूको उचित बजारीकरण र प्रवर्द्धनमा जोड दिइने बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि उद्योग तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार नीतिगतरुपमै अघि बढेको जानकारी दिनुभयो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले उद्योग क्षेत्रको विकाससँगै रोजगारी सिर्जना, आयात प्रतिस्थापन, स्थानीय स्रोतसाधनको उपयोग तथा आर्थिक गतिविधिको वृद्धिका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button