तपाईँ सुन्दै हुनुहुन्छः

आयातमा गिरावट आएसँगै बीरगंज र ड्राईपोर्ट भन्सारको राजस्व असुली प्रभावित

बीरगंज– मुलुककै मुख्य नाका वीरगंज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहले चालु आर्थिक बर्ष २०७६/०७७ को ३ महिनामा ४८ अर्ब २४ करोड ७३ लाख राजस्व असुली गरेका छन ।

दुवै भन्सार नाकाबाट भारत तथा तेश्रो मुलुकबाट हुने आयातमा ठूलो परिणाममा गिरावट भएसँगै राजस्व असुलीसमेत नराम्रोसँग प्रभावित भएको छ ।

तिन महिनामा वीरगंजका दुई भन्सार कार्यालयले लक्ष्य भन्दा करिब १७ अर्ब रुपैया कम राजस्व संकलन गरेका छन् । वीरगंज भन्सार (आइसिपी)ले लक्ष्यभन्दा १४ अर्ब र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३ अर्ब रुपैया कम राजस्व असुली भएको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

बीरगंज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म अर्थमन्त्रालय राजस्व विभागले ५२ अर्ब ९८ करोड राजस्व उठाउन लक्ष्य तोकेकोमा ३८ अर्ब ६२ करोड ७३ राजस्व संकलन भएको वीरगंज भन्सारका सूचना अधिकारी मनिषकुमार महतोले जानकारी दिनुभयो ।

दशैँ तिहारमा आयात बढनु पर्ने भएतापनि असोजमा १२ अर्ब ८८ करोड मात्र राजस्व असुली भएको र तीन महिनामा लक्ष्यभन्दा २७ प्रतिशत राजस्व असुली कम भएको वीरगंज भन्सारका सूचना अधिकारी महतोले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा सवारी साधन, औद्योगिक कच्चापदार्थ, इन्धन, ट्रेडिगका समान, फलामजन्य वस्तु, कस्मेटिक सामग्री, मदिरा, इनर्जी ड्रिंक्स लगायत समानको आयातमा ठूलो परिणाममा गिरावट आएको हुँदा राजस्व असुली प्रभावित भएको महतोले जानकारी दिनुभयो ।

यसैगरी ड्राईपोर्ट भन्सारले चालू आर्थिक वर्षको असोज मसान्त सम्म ११ अर्ब ७६ करोड २१ लाख राजस्व असुली गर्ने विभागबाट लक्ष्य पाएको भए पनि सो अवधिमा ९ अर्ब ६२ करोड मात्र असुली भएको छ । लक्ष्य भन्दा १९ प्रतिशत कम राजस्व असुली भएको ड्राईपोर्ट भन्सारका सूचना अधिकारी विकास कुमारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button