अलग-अलग सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
सुनसरी । सुनसरीको दुहवी र मोरङको विराटनगरमा भएका अलग अलग सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको दुहवी नगरपालिका १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक दुहवी ११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका उहाँको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुहवी ८ मा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा विराट शिक्षण अस्पतालमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले बस र चालक सप्तरीको सप्तकोसी नगरपालिका ५ का ४४ वर्षीय रोहितबहादुर विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
यस्तै, विराटनगर महानगरपालिका १४ भगवती टोलमा रोकेर राखेको सिटी सफारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घरनजिक रोकेर राखेको को १ ह ४३५० नम्बरको सफारीमा अमर महतोका अढाई बर्से छोरा अनिल महतो खेल्दै थिए ।
खेल्ने क्रममा आफैँ अगाडि बढेको सफारीले ९ महिने नाबालक सुनिल महतोलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट घाइते भएका सुनिलको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका ९ महिने नाबालक अमरका छोरा एवम् अनिलका भाइ हुन् । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्