तपाईँ सुन्दै हुनुहुन्छः

तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ? कारबाहीमा परिएला!

फाइल तस्बिर

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा तपाईँ तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्ने विरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ ।   

रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।    

महाशाखाका अनुसार कोटेश्वर–सूर्य विनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।    

यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो ।

उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो । उहाँले आज रातिदेखि नै नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।   

उक्त अभियानकै समयमा स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो, ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ । रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button