तनहुँमा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दो

तनहुँ । वैदेशिक रोजगार, श्रीमान् श्रीमतीबिच आपसी अविश्वास जस्ता कारण तनहुँमा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।
तनहुँ जिल्ला अदालतको तथ्याङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ७८ सम्बन्ध विच्छेद घटना दर्ता भएका छन् । जसमा ४ सय ६३ फैसला भएको र २१५ बाँकी रहेको छ । यस्तै बहुविवाहका १५ घटना दर्ता भएको र जसमा एउटा फैसला भएको र १४ वटा बाँकी रहेका छन् ।
यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ७१ सम्बन्ध विच्छेद घटना दर्ता भएका छन् । जसमा ३ सय ८२ फैसला भएको र १८९ बाँकी रहेको छ । यस्तै बहुविवाहका ९ वटा घटना दर्ता भएको र जसमा २ वटा फैसला भएको र ७ वटा बाँकी रहेका थिए ।
महिला तथा पुरुषबिच अविश्वासको खाडल बढ्दै जानु, प्रविधिको विकास जस्ता कारण जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद र बहुविवाहका घटना बढ्दै गएको तनहुँ जिल्लाका अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताउनुभयो ।
कम उमेरमा विवाह गर्नु, आपसी बेमेल, इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोग, वैदेशिक रोजगार, धर्म प्रति अविश्वास आदी कारण जिल्लामा यस प्रकार घटना बढेको श्रेष्तेदार कुँवरको भनाई छ ।
बहुविवाह कानुनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको अधिवक्ता त्रिभुवन श्रेष्ठले बताउनुभयो ।
शहरी जीवनशैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण पनि यसका प्रकारका घटना वृद्धिमा हुनुमा बढवा दिएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्