तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी राजमार्गको पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट निर्माण सुरु

झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न सुरु गरिएको छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिए लगत्तै काम अघि बढाइने भएको छ ।

राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेन्डर आह्वान गरिने भएको छ । पहिलो खण्ड मेचीडाँगीदेखि बुद्ध शान्तिको शान्तिनगरसम्म १० किलोमिटरको छ ।

सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले पाएकामा आगामी दुई वर्षमा निर्माण गर्ने गरी संझौता गरेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ ।दोस्रो धरानदेखि पूर्वतर्फ मोरङको भलुवा खोलासम्म २५ किलोमिटर र तेस्रो खण्ड भलुवादेखि झापाको दमकस्थित बेलडाँगीसम्म २८ किलोमिटर सडक रहेको छ । “हामीले विस्तृत परियोजना प्रतिवेदन तयार गरेर सडक निर्माणको ठेक्का सम्झौता गरिसक्यौँ”, आयोजनका प्रमुख यादवले भन्नुभयो, “वर्षातको समय सकिनासाथ निर्माण सुरु गर्छाैं ।” बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो । बेलडाँगीदेखि शान्तिनगरसम्म लागत अनुमान तयार हुनासाथ बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्युठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button