पण्डितहरूले नै गरे बालविवाह नगराउने लिखित प्रतिबद्धता

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिकामा पण्डितहरूले बालविवाह नगराउने लिखित प्रतिबद्धता गर्नुभएको छ ।
बर्दिवास नगरपालिका वडा नं. ५ को वडा बाल संरक्षण समितिको आयोजना र सामुदायिक परिवार कल्याण सङ्घ, सेभ द चिल्ड्रेनको सहकार्यमा “नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पुरा बाल विवाह न्यूनीकरणका लागि पुजारी, पण्डित, पास्टर, लामा, गान्वासँग प्रतिबद्धता’’ मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय स्तरमा विवाहको साइत जुराउँदै आएका र विवाह गराउँदै आएका १२ जना पुजारी, पण्डित, पास्टर, लामा, गान्वाले कानुनले तोकेको उमेर नपुगी विवाह नगर्ने भनी लिखित हस्ताक्षर गर्नु भएको छ ।
बर्दिबास नगरपालिकाको वडा नं.–५ मा मात्रै सन् २०२० मा ४२ वडा विवाह भएको थियो जसमध्ये ६ वटा विवाह बाल विवाह रहेको सेभ द चिल्ड्रेन तथा सामुदायिक परिवार कल्याण सङ्घले सङ्कलन गरेका तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा सहभागी पण्डित मोतिलाल गौतमले समिक्षा गर्दै भन्नुभयो पोहोर साल गराएको विवाह मध्ये एक विवाह बाल विवाह रहेछ मलाई जानकारी भएन तर आजबाट उप्रान्त बालविवाह गराउने छैन भनी प्रतिबद्धता गर्दछु ।
विवाहको साइत हेर्दा केटा र केटीको अनिवार्य उमेर सोध्ने र बालविवाह रहेछ भने विवाह नगर्ने अथवा सम्बन्धित ठाउँमा जानकारी गराउन र बाल विवाह मुक्त वडा निर्माणमा सबैलाई हातेमालो गर्न सोही वडाका वडा अध्यक्ष दल बहादुर थापाले अनुरोध गर्नुभयोे ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ परिच्छेद–११ विवाह सम्बन्धी कसूरले बाल विवाह गर्न नहुनेः विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने भनी तोकेको छ ।








प्रतिक्रिया राख्नुहोस्