तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई गण्डकी प्रदेश सरकारको सहयोग

पोखरा।गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले यो रकम रकम प्राप्त गर्नेछन् ।

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम राहत वितरणका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ ।कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले बताउनुभयो ।

उहाँले भन्नुभयो , “बजेट तथा नीति कार्यक्रममा कोभिड सङ्क्रमणका कारण बाबु वा आमा गुमाएकालाई नगद राहत प्रदान गर्ने व्यवस्था भएबमोजिम सोको कार्यान्वयनका लागि पीडित बालबालिकाको विवरण पठाउन गण्डकी प्रदेशका सबै स्थानीय तहलाई परिपत्र गरी सकिएको छ । विवरण प्राप्त भएपछि सोको अध्ययन गरेर वास्तविक लाभग्राहीलाई राहत रकम दिन्छौँ ।”सहयोग रकम प्राप्त गर्नका लागि कोभिडका कारण मृत्यु भएका अभिभावकको पिसिआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यु भएको भए सो खुल्ने कागजात, वडा कार्यालयको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा हाल संरक्षकत्वको विवरण आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

यसका लागि हाल रु ३० लाख बजेट अख्तियारी प्राप्त भएको र प्राप्त विवरणका आधारमा आवश्यक बजेट व्यवस्था हुने महाशाखा प्रमुख लम्सालले जानकारी दिनु भयो । मन्त्रालयले राहत रकम वितरणका सम्बन्धमा कार्यविधि बनाउन लागेको छ । वर्षमा एकै पटक वितरण नगरीकन चरणवद्धरूपमा सम्बन्धित व्यक्तिलाई रकम प्रदान गर्ने तयारी मन्त्रालयको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button