नेपालगञ्जमा २३६ प्रहरी जवान दीक्षित

नेपालगञ्ज । नेपाल प्रहरीमा २३६ जना प्रहरी जवान दीक्षित भएका छन् । नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ९-१४१औँ समूहका २३६ जना प्रशिक्षार्थी दीक्षित भएका हुन् । दीक्षित हुनेमा १४८ जना पुरुष र ८८ जना महिला प्रहरी जवान रहेका छन् । तालिम पूरा गरेसँगै उनीहरू प्रहरी सङ्गठनको जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा खटिएका छन् ।
दीक्षान्त समारोहका प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)जयराज सापकोटाले उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले प्रहरी सेवामा प्रवेश गरेका जवानहरूलाई इमानदार, अनुशासित र कर्तव्यनिष्ठ भएर नागरिकको जीउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले प्रहरी सङ्गठनको गरिमा र जनविश्वास कायम राख्दै नागरिकमैत्री प्रहरी सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कुमार महतोले आधारभूत तालिमले प्रशिक्षार्थीहरूलाई प्रहरी सेवाका लागि आवश्यक ज्ञान, सीप, अनुशासन र व्यावसायिक दक्षता प्रदान गरेको बताउनुभयो । उहाँले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै जिम्मेवार, संवेदनशील र जबाफदेही भएर काम गर्न दीक्षित प्रहरी जवानहरूलाई निर्देशन दिनुभयो ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद जोशीले तालिमको प्रतिवेदन प्रस्तुत गर्दै प्रशिक्षार्थीहरूले तालिम अवधिमा प्राप्त गरेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुशासनबारे जानकारी गराउनुभएको थियो । कुल २३६ कार्यदिन अवधिको उक्त आधारभूत तालिम २०८२ मंसिर १७ गतेदेखि सञ्चालन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्