‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’

तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एक अर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताउनुभएको छ ।
तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताउनुभयो ।
स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन् ।
भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्