तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बढाउन निजी क्षेत्र लाग्नुपर्छ, सरकारले वातावरण बनाउने हो : निमित्त महाप्रबन्धक शाह

भारतसँग रुट सहमति भयो, कार्यान्वयन कहिले ?

२०७९ सालमा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडानले गति लिन सकेको छैन । केही वायुसेवाले परीक्षणका रूपमा उडान गरे पनि निरन्तरता दिन सकेका छैनन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा यो विमानस्थललाई लक्षित गरी भारतीय हवाई क्षेत्रबाट दुईतर्फी प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भएको सहमतिले भने नयाँ आशा जगाएको छ । तर सहमति हुँदैमा उडान सुरु भइहाल्ने अवस्था छैन । त्यसका लागि प्राविधिक प्रक्रिया पूरा गर्नेदेखि वायुसेवा कम्पनी आकर्षित गर्ने र बजारको सुनिश्चितता गर्नेसम्मका चुनौती छन् । अर्कोतर्फ विमानस्थलमा नेपाल वायुसेवा निगमको बेस राख्ने, अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानमा ल्याउने र स्थानीय निजी क्षेत्रले लिनुपर्ने व्यावसायिक जिम्मेवारीका विषय पनि उत्तिकै महत्वपूर्ण छन् । यिनै विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहसँग रेडियो नेपालका रुपन्देही संवाददाता रामप्रसाद आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थलका लागि भारतीय हवाई क्षेत्रबाट दुईतर्फी प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सहमति भएको हो ? कार्यान्वयन प्रक्रिया कसरी अगाडि बढ्छ ?
यो विषयमा सकारात्मक प्रगति भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेपाल र भारतका प्राविधिक टोलीबीच दुईपटक छलफल भइसकेको रहेछ । त्यसैले अब प्राविधिक प्रक्रिया टुङ्ग्याउन धेरै समय लाग्ने देखिँदैन । मेरो बुझाइमा दुवै देशका प्राविधिक टोलीबीच एक बैठकमै बाँकी विषय टुङ्गिन सक्छन् ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पहल गर्नेछ । पर्यटन मन्त्रालयले बैठकको संयोजन गर्छ । आवश्यकताअनुसार परराष्ट्र मन्त्रालयको पनि भूमिका रहन्छ । प्राविधिक सहमति भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको अनुमोदन र आवश्यक प्रकाशन प्रक्रिया पूरा गर्नुपर्छ । हवाई मार्गसम्बन्धी विवरण एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी) मा प्रकाशित गर्नुपर्ने हुन्छ । प्रकाशनपछि लागू हुन करिब दुई महिना लाग्छ । त्यसैले समग्र प्रक्रिया तीनदेखि चार महिनामा पूरा हुन सक्ने देखिन्छ । सबै काम समयमै अघि बढे छ महिनाभित्र दुईतर्फी उडान सञ्चालनको बाटो खुल्न सक्छ ।

यो सहमति कार्यान्वयन गर्न प्राविधिक चुनौती धेरै छ भनिएको छ, के गर्नुपर्ने हो ? के कुनै ठूलो जटिलता छ ?
ठूलो जटिलता छैन । अहिले भैरहवाबाट भारततर्फ जाने हवाई मार्ग एकतर्फी रूपमा प्रकाशित छ । त्यसलाई दुईतर्फी बनाउनुपर्ने हो । अहिले जुन मार्गबाट नेपाली जहाज भारततर्फ जान्छन्, त्यही मार्गबाट भारतीय क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने जहाजलाई पनि अनुमति दिने गरी व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसमा उडानको उचाइ अर्थात् फ्लाइट लेभलको विषय पनि छ । प्रस्तावित मार्गमा न्यूनतम १० हजार फिटको उचाइ उपलब्ध रहेको देखिन्छ । यदि भारतले १० हजार फिटमै प्रवेश अनुमति दियो भने भैरहवा आउन कुनै समस्या हुँदैन । जहाजले त्यसपछि आवश्यकताअनुसार उचाइ घटाउँदै विमानस्थलमा अवतरण गर्न सक्छ । सहमति हुँदा एउटा उडान तह उल्लेख भए पनि प्रत्येक उडानका लागि छुट्टै फ्लाइट प्लान स्वीकृत हुन्छ । जहाजले कुन उचाइमा उड्न चाहेको हो, त्यसअनुसार दुवै देशका एयर ट्राफिक कन्ट्रोलबीच समन्वय हुन्छ । दुवैतर्फका एटीसीले सहमति जनाएपछि उडान सञ्चालन गर्न सकिन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै लखनउ क्षेत्रबाट आएका झन्डै सयवटा जहाज गोरखपुर क्षेत्र हुँदै सिधै नेपाल प्रवेश गरेर भैरहवा आएका छन् । ती उडानमा पनि दुवै देशका एटीसीबीच समन्वय भएको हो । त्यसैले प्राविधिक रूपमा यो काम सम्भव छ । अहिलेको मुख्य आवश्यकता प्रकाशित हवाई मार्गलाई दुईतर्फी बनाउनु हो ।

दुईतर्फी हवाई मार्ग खुलेपछि भैरहवामा तत्काल अन्तर्राष्ट्रिय उडान बढ्ने सुनिश्चितता हुन्छ ?
हवाई मार्ग खुल्नु एउटा महत्वपूर्ण आधार हो, तर त्यसले मात्रै उडान सुनिश्चित गर्दैन । त्यसपछि वायुसेवा कम्पनीलाई आकर्षित गर्नुपर्छ । अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कुनै वायुसेवा छैन । चार्टर उडान भने बेला बेलामा भइरहेका छन् । विगतमा जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, हिमालय एयरलाइन्स र कतार एयरवेजले यहाँबाट उडान गरेका थिए । जजिरा एयरवेज र थाई एयर एसियाले नियमित उडानसमेत गरेका थिए । तर ती उडानले निरन्तरता पाउन सकेनन् । अब ती वायुसेवालाई पुनः सम्पर्क गरेर उडान निरन्तर गर्न आग्रह गर्नुपर्छ । नयाँ वायुसेवा कम्पनीलाई पनि आकर्षित गर्नुपर्छ । यसमा विमानस्थल, सरकार र निजी क्षेत्र सबैको भूमिका आवश्यक हुन्छ ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवाबाट उडान गर्दा यात्रु नपाइने जोखिम देखाउँछन् । त्यसको समाधान कसरी गर्न सकिन्छ ?
यो व्यावसायिक जोखिम हो । कुनै वायुसेवाले १७५ सिट क्षमताको जहाज उडाउँदा सबै सिट बिक्री नभए घाटा हुन्छ । त्यसैले उसले आफ्नो जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गर्छ र निश्चित सिट बिक्रीको जिम्मेवारी दिन्छ । बिक्री नभएका सिटको जोखिम पनि सम्बन्धित एजेन्टले लिनुपर्ने हुन सक्छ । यस्तो अवस्थामा स्थानीय ट्राभल तथा पर्यटन व्यवसायीले पनि जोखिम बाँड्नुपर्छ । उदाहरणका लागि, कुनै जहाजमा १७५ सिट छन् र जीएसएले १६० सिट बिक्रीको ग्यारेन्टी लिएको छ भने स्थानीय व्यवसायीले पनि २५–३० सिटको जिम्मेवारी लिन सक्छन् । यसले वायुसेवा कम्पनीलाई उडान गर्न विश्वास दिलाउँछ । सुरुमा व्यवसाय गर्दा घाटाको सम्भावना हुन्छ । त्यसलाई मिलेर बाँड्ने हो । पछि यात्रुको चाप बढेर नाफा हुन थालेपछि नाफा पनि बाँड्न सकिन्छ । तर यहाँका व्यवसायीले अहिलेसम्म यस्तो जोखिम साझेदारी गर्ने तत्परता देखाएका छैनन् । पोखरामा फ्लाई दुबईका यात्रुलाई स्वागत गर्न होटल व्यवसायीले ब्यानर राख्ने, छुट दिने र स्थानीय निकायसमेत सक्रिय हुने गरेको देखिन्छ । भैरहवामा त्यस्तो सामूहिक पहल कमजोर छ । विमानस्थलमा उडान ल्याउन सरकारलाई मात्र जिम्मेवार बनाएर हुँदैन । स्थानीय व्यवसायीले पनि बजार निर्माणमा अग्रसरता लिनुपर्छ ।

भैरहवाबाट भारतीय सहरमा उडान विस्तारको सम्भावना कस्तो छ ?
भारतीय सहरसँग हवाई सम्पर्क विस्तारको राम्रो सम्भावना छ । लखनऊबाट भैरहवा उडान हुन सक्छ । भारतका विभिन्न वायुसेवा कम्पनीसँग पनि कुरा गर्न सकिन्छ । एयर इन्डिया, इन्डिगो र आकासा एयरजस्ता कम्पनीलाई भैरहवामा उडान गर्न आग्रह गर्न सकिन्छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय पक्षसँग बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरी उडान सञ्चालन गर्ने विषयमा पनि अनुरोध भएको छ । बोधगयाबाट भैरहवा उडान गराउने विषयमा सकारात्मक आश्वासन प्राप्त भएको भन्ने जानकारी पनि आएको छ । यसका अतिरिक्त भैरहवा र पोखराबीचको सम्भावनालाई पनि हेर्न सकिन्छ । बुद्ध एयरले काठमाडौँबाट वाराणसी र पोखराबाट भैरहवा उडान गरिरहेको छ । पोखराबाट वाराणसी उडान गर्ने प्रयास गर्दा भारतीय पक्षबाट अनुमति प्राप्त हुन सकेन । तर भैरहवाबाट वाराणसी उडानको सम्भावना खोज्न सकिन्छ । यसका लागि स्थानीय व्यवसायीले सम्बन्धित वायुसेवा कम्पनीसँग प्रत्यक्ष संवाद र लबिङ गर्नुपर्छ । नेपालमा उडान गरिरहेका कम्पनीका जीएसएसँग साझेदारी गर्न सकिन्छ । नयाँ कम्पनीलाई भैरहवा ल्याउन उनीहरूको प्रतिनिधि वा बिक्री साझेदार नियुक्त गर्न पनि सकिन्छ ।

नेपाल वायुसेवा निगमको बेस भैरहवामा राख्न सकिँदैन ?
नेपाल वायुसेवा निगमको आफ्नै समस्या छ । अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि जम्मा चार वटा जहाज छन् । ती जहाज २५ देखि ३० वर्ष पुराना भइसकेका छन् । एउटा जहाजलाई पनि प्रत्येक वर्ष १५ देखि २० दिन मर्मतसम्भारका लागि ग्राउन्डेड गर्नुपर्ने हुन्छ । मर्मतसम्भारमा बढी समय लाग्दा यस वर्ष चारवटा जहाजको मर्मतका कारण झन्डै चार महिना तीनवटा जहाजबाट मात्रै सेवा सञ्चालन गर्नुपरेको अवस्था छ । निगमले अहिले १०–१२ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । ती गन्तव्यमा निगमको उडानले बजारमा प्रतिस्पर्धा कायम राख्न सहयोग गरेको छ ।

उदाहरणका लागि, दिल्लीमा निगमको उडान भएको दिन भाडा १५–२० हजार रुपैयाँ हुन सक्छ । तर निगमको उडान नभएको दिन त्यही भाडा २५ हजार रुपैयाँभन्दा माथि पुग्न सक्छ । निगमको उपस्थितिले यात्रुलाई सस्तो भाडामा यात्रा गर्ने विकल्प दिएको छ । त्यसैले काठमाडौँबाट सञ्चालन भइरहेको उडान कटौती गरेर जहाज भैरहवामा राख्दा त्यहाँको बजारमा असर पर्न सक्छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली यात्रुलाई पर्छ । सरकारले पनि त्यस्तो जोखिम तत्काल लिन चाहेको देखिँदैन । निगमको व्यवस्थापनले भैरहवाबाट उडान गर्दा हुने सञ्चालन खर्च, आम्दानी र नाफा–घाटाको अध्ययन गरेर निर्णय गर्ने हो । जहाज थपिए वा पर्याप्त क्षमता भयो भने भैरहवामा बेस राख्ने सम्भावना रहन्छ । तर अहिले जहाजको अभावका कारण निगमले त्यस्तो जोखिम लिन नसकेको हो ।

विमानस्थल सञ्चालनका लागि आवश्यक सरकारी कार्यालय र पूर्वाधारको अवस्था कस्तो छ ?
विमानस्थलमा आवश्यक सरकारी कार्यालयको अभाव छैन । सुरक्षा कार्यालय छ, अध्यागमन छ, भन्सार कार्यालय छ र अन्य आवश्यक व्यवस्था पनि छन् । त्यसैले सरकारी कार्यालय नभएकै कारण विमानस्थल सञ्चालनमा समस्या परेको भन्ने होइन ।

कहिलेकाहीँ भन्सार कार्यालयमा कर्मचारी राखिएको तर काम नभएको भन्ने प्रश्न उठ्छ । तर विमानस्थल सञ्चालनका लागि कर्मचारी आवश्यक हुन्छन् । कुनै पूर्वाधार निर्माण भएपछि त्यसलाई सञ्चालन गर्न पनि खर्च लाग्छ । बिजुली, सुरक्षा, कर्मचारी र अन्य व्यवस्थापन खर्च स्वाभाविक हुन् ।
यो खर्च नेपाल सरकारको मात्र बोझका रूपमा हेर्नु हुँदैन । विमानस्थल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनमा सञ्चालन हुने व्यावसायिक पूर्वाधार पनि हो । यात्रुले टिकट काट्दा आन्तरिक उडानमा पाँच सय रुपैयाँसम्म सेवा शुल्क तिर्ने व्यवस्था छ । त्यसबाट प्राप्त हुने आम्दानीसँगै यात्रुलाई आवश्यक सेवा उपलब्ध गराउनु पनि विमानस्थलको जिम्मेवारी हो ।

भैरहवामा भिसा सेन्टर नभएको र यात्रुलाई विभिन्न सेवा लिन काठमाडौँ जानुपर्ने अवस्थालाई पनि समस्याका रूपमा उठाइन्छ नि ?
भिसा सेन्टर राख्ने विषय सम्बन्धित देशको दूतावासको निर्णयमा निर्भर हुन्छ । कुन देशको दूतावासले भैरहवामा भिसा सेन्टर राख्छ ? सामान्यतया उनीहरूले काठमाडौँमै यस्तो सेवा केन्द्र राख्छन् । अहिले मेडिकल, श्रम स्वीकृतिलगायत धेरै सेवा अनलाइनबाटै भइरहेका छन् । भिसाका लागि आवश्यक कागजात पठाउने र प्राप्त गर्ने व्यवस्था पनि विभिन्न माध्यमबाट मिलाउन सकिन्छ । त्यसैले सबै सेवा भैरहवामै हुनुपर्छ भन्ने होइन । समस्या देखाउनुभन्दा उपलब्ध पूर्वाधार र सुविधाको उपयोग कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ । विमानस्थलमा आवश्यक सरकारी कार्यालय र आधारभूत संरचना तयार छन् । अब नियमित उडान र यात्रु आवागमन बढाउने काममा सबै पक्ष लाग्नुपर्छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल तथा पर्यटन व्यवसायीले के गर्न सक्छन् ?
होटल व्यवसायीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई विशेष छुट दिन सक्छन् । पोखरामा होटल व्यवसायीले उडानमार्फत आउने यात्रुलाई छुट दिने अभ्यास गरेका छन् । भैरहवामा पनि त्यस्तो व्यवस्था गर्न सकिन्छ ।

यहाँ होटल, क्यासिनो र पर्यटनसँग सम्बन्धित पूर्वाधार छन् । लुम्बिनीमा आउने भारतीय पर्यटकको सम्भावना पनि ठूलो छ । त्यसैले भारतीय वायुसेवा कम्पनीलाई उडानका लागि आकर्षित गर्ने, यात्रुलाई होटलमा छुट दिने, ट्राभल व्यवसायीले सिट बिक्रीको जिम्मेवारी लिने र स्थानीय निकायले स्वागत तथा प्रवद्र्धनका कार्यक्रम गर्ने हो भने उडानको बजार बनाउन सकिन्छ । विमानस्थलले मात्रै यात्रु ल्याउन सक्दैन । यात्रु ल्याउने वातावरण बनाउन निजी क्षेत्र पनि सक्रिय हुनुपर्छ ।

समग्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउन अबको मुख्य चुनौती के हो ?
पहिलो काम दुईतर्फी हवाई मार्गको प्राविधिक प्रक्रिया पूरा गर्नु हो । यसमा नेपाल र भारतका प्राविधिक टोलीले छिटो काम गर्नुपर्छ । दोस्रो, उडानका लागि वायुसेवा कम्पनी आकर्षित गर्नुपर्छ । तेस्रो, स्थानीय निजी क्षेत्रले व्यावसायिक जोखिम बाँड्ने र यात्रु सुनिश्चित गर्ने वातावरण बनाउनुपर्छ ।
अहिले हाम्रो कमजोरी भनेको सबै जिम्मेवारी सरकार वा विमानस्थलको मात्रै हो भन्ने सोच हो । विमानस्थलले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, सरकारले नीतिगत र कूटनीतिक सहजीकरण गर्नुपर्छ । तर स्थानीय व्यवसायीले पनि उडान सञ्चालनमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
दुईतर्फी हवाई मार्गको सहमति कार्यान्वयन हुने सम्भावना बलियो छ । तर त्यसपछि पनि हामी आफैँ सक्रिय भएनौँ भने उपलब्ध अवसरको उपयोग गर्न सकिँदैन । त्यसैले अब सरकार, विमानस्थल, वायुसेवा कम्पनी र निजी क्षेत्र सबैले मिलेर काम गर्नुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button