आगामी मङ्सिरभित्र कर्णालीका सबै अस्पतालको स्तरवृद्धि गर्ने मन्त्री मल्लको घोषणा

मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले आगामी मङ्सिर महिनाभित्र प्रदेशअन्तर्गतका सबै अस्पतालको स्तरवृद्धि गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभएको छ। अस्पतालको भौतिक संरचना, स्वास्थ्य सेवा प्रवाह र उपचार प्रणालीलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो।
जिल्ला स्तरमा सुर्तीजन्य पदार्थ तथा मदिराको नियमन र नियन्त्रणका लागि आयोजित समन्वय कार्यक्रम तथा अनुगमनका क्रममा मुगु पुग्नुभएका मन्त्री मल्लले अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सरकार गम्भीर रहेको धारणा राख्नुभयो।
उहाँले प्रदेशका अस्पतालमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी तथा चिकित्सकको जनशक्ति उपलब्ध नहुँदा सेवा प्रवाह र जनशक्ति व्यवस्थापनमा कठिनाइ भइरहेको उल्लेख गर्नुभयो। जनशक्तिको अभावसँगै अस्पतालमा आउने बिरामीले पाउनुपर्ने व्यवहार र सेवाका विषयमा समेत गुनासा बढिरहेको भन्दै स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो।
अस्पतालको सेवा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा आफू निरन्तर लागिरहेको बताउँदै मन्त्री मल्लले नागरिकले आफ्नै जिल्लामा सहज, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था निर्माण गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय मुगुका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दीपेन्द्रजङ्ग शाहीले जिल्ला अस्पतालबाटै सुविधा सम्पन्न अस्पतालको मापदण्डअनुसारको सेवा प्रवाह गर्ने लक्ष्यका साथ सुधारका काम अघि बढाइएको बताउनुभयो। विगतको तुलनामा अस्पतालको फोहोर व्यवस्थापन, बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा समग्र सेवा प्रवाहमा सुधार आएको उहाँले जानकारी दिनुभयो।
शाहीले सुर्तीजन्य पदार्थ तथा मदिराको सेवनका कारण नेपालमा हरेक वर्ष मुटुरोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगबाट ठूलो सङ्ख्यामा मानिसले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीयस्तरबाटै सचेतना र नियमन आवश्यक रहेको बताउनुभयो। नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार उपलब्ध गराउन आफू नेतृत्वको स्वास्थ्यकर्मीको टोली निरन्तर क्रियाशील रहेको उहाँको भनाइ थियो।
उहाँले अस्पतालको सेवा सुधारसँगै रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिन जनचेतना फैलाउने अभियानलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। विशेषगरी मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय, सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला अस्पतालको सेवा प्रवाह, स्वास्थ्य संस्थाको अवस्था, सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्या र तिनको नियन्त्रणका उपायबारे छलफल गरिएको थियो।
स्वास्थ्य कार्यालय ठिनी मुगुको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्