तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाका उपराष्ट्रपति गिब्रानद्वारा राजीनामा

जकार्ता । इन्डोनेसियाका उपराष्ट्रपतिले बिहीबार राजीनामा दिनुभएको छ। उहाँको उच्च विद्यालयको प्रमाणपत्रसम्बन्धी काण्डले उहाँलाई पदबाट बाहिरिन बाध्य बनाएको हो । 

यसले अर्थतन्त्र, भ्रष्टाचार र डढेलोेका कारण व्यापक असन्तुष्टि सामना गरिरहेको सरकारमाथिको दबाब झन् बढाएको छ। उपराष्ट्रपति गिब्रान रकाबुमिङ राका (३९) लाई राजीनामा दिन बारम्बार माग आइरहेको थियो । गत महिना सर्वोच्च अदालतले विदेशबाट लिएको उहाँको उच्च विद्यालय योग्यता रद्द गरेपछि यस्तो माग बढेको थियो । 

बिहीबार उहाँले राष्ट्रपति प्रबोवो सुबिआन्तो र संसद्समक्ष राजीनामा पत्र बुझाउनुभएको थियो । 

प्रबोवोले पत्रकारसँग भन्नुभयो, “उहाँले गिब्रानको राजीनामा ‘गम्भीर मनले’ स्वीकार गर्नुभएको छ । उहाँलाई ‘राष्ट्र र इन्डोनेसियाका जनताको हितका लागि ठूलो उद्देश्यका लागि’ कदम चालेको भन्दै प्रशंसा गर्नुभएको छ। 

“उहाँले अवश्य पनि व्यवस्थित प्रक्रियाबाट शिक्षा हासिल गरेको महसुस गर्नुहुन्छ, तर हामी सबै बुझ्छौँ कि विदेशको शिक्षा प्रणाली र इन्डोनेसियाको शिक्षा प्रणाली फरक छ,” राष्ट्रपतिले भन्नुभयो । 

इन्डोनेसियाका उपराष्ट्रपतिसँग संविधानतः धेरै शक्ति छैन। उहाँले राष्ट्रपतिको प्रतिनिधिको रूपमा औपचारिक कार्यक्रममा भाग लिने र राष्ट्रपति अशक्त भएमा पदभार ग्रहण गर्ने मात्र हुो । ‘राजनीतिक पुनव्र्यवस्थितीकरण’ गिब्रानको पतन आर्थिक कठिनाइ, भ्रष्टाचार, कथित सत्तावादी शैली र महिनौँदेखि चल्दै आएको विनाशकारी जङ्गली आगोबाट निस्कने विषालु धुवाँप्रति सरकारको कमजोर व्यवस्थापनविरुद्ध हालैका हप्ताहरूमा हजारौँ इन्डोनेसियाली सडकमा उत्रिएपछि भएको हो। उहाँको बहिर्गमनले प्रबोवो र उहाँका पूर्ववर्ती जोको विदोदो ९जोकोवी भनिने गिब्रानका बुबा० का दलहरू समावेश भएको खुकुलो सत्तारूढ गठबन्धनलाई जटिल बनाउने सम्भावना छ । 

सुरक्षा तथा रणनीतिक अध्ययन संस्थान (आईएसईएसएस) थिङ्क ट्याङ्कका कार्यकारी निर्देशक खैरुल फाह्मीका अनुसार यो राजीनामा ‘महत्त्वपूर्ण राजनीतिक पुनव्र्यवस्थितीकरण’ हो, तर यसले सरकारको स्थिरतालाई अनिवार्य रूपमा खतरामा पार्दैन। 

“जोकोवीले राजनीतिक प्रभाव कायम राख्नुहुनेछ, तर गिब्रानको बहिर्गमनले उहाँको सञ्जालको प्रत्यक्ष सत्ता पहुँच घटाउन सक्छ । प्रबोवोका लागि यसले आफ्नो नेतृत्व सुदृढ पार्ने र आफ्नै राजनीतिक एजेन्डा अघि बढाउने ठूलो ठाउँ सिर्जना गर्छ,” खैरुलले एएफपीलाई बताउनुभयो । 

आफ्नो कार्यकालको दुई वर्षमा प्रबोवोको लोकप्रियता ऐतिहासिक न्यून बिन्दुमा पुगेको छ । गत साता इन्डोनेसियाली अधिकारीहरूले राष्ट्रपतिको टेलिफोन सुनेको आरोपमा पूर्व राष्ट्रिय प्रहरी प्रमुख र तीन जना वरिष्ठ प्रहरी अधिकारीलाई पक्राउ गरेका थिए । बिहीबार प्रहरीले सम्भावित राजद्रोहको अनुसन्धान गरिरहेको बताएको छ। प्रबोवोको सत्तामा उदय व्यापक रूपमा लोकप्रिय जोकोवीको समर्थनलाई श्रेय दिइन्छ, जसले सन् २०१४ देखि सन् २०२४ सम्म दुई कार्यकाल सेवा गर्नुभएको थियो । गिब्रानलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले प्रबोवोको गेरिन्द्रा दल र जोकोवीसँग आबद्ध व्यक्तिहरूबीचको सम्बन्धलाई मजबुत बनाएको थियो। 

त्यसबेलासम्म जोकोवी प्रबोवोका राजनीतिक प्रतिद्वन्द्वी मानिनुहुन्थ्यो र दुई पटकको राष्ट्रपति चुनावमा उहाँलाई पराजित गर्नुभएको थियो । 

यो गठबन्धनअन्तर्गत गिब्रान र जोकोवीका अन्य सहयोगीहरूलाई प्रबोवोको सरकारका महत्त्वपूर्ण पदहरूमा नियुक्त गरिएको थियो। प्रबोवो सेनासँग नजिक मानिनुहुन्छ भने प्रहरी परम्परागत रूपमा जोकोवीप्रति वफादार रहँदै आएको छ। उपराष्ट्रपति गिब्रान इन्डोनेसियाको उपराष्ट्रपति पद धारण गर्ने सबैभन्दा युवा व्यक्ति बन्नुभएको थियो । त्यसपछि आफ्नो कार्यकालको दुई वर्षमा आलोचकहरूले अदालतमा गएर उहाँको उच्च विद्यालय प्रमाणपत्रमा चुनौती दिए, जुन पदका लागि अनिवार्य योग्यता हो । 

गिब्रानले सिङ्गापुरमा आफ्नो स्कूले शिक्षा पूरा गर्नुभएको थियो र त्यहीँ बजारीकरण (मार्केटिङ) मा स्नातक डिग्री हासिल गर्नुभएको थियो । सन् २०२४ मा सामान्य निर्वाचन आयोग (केपीयू) मा उम्मेदवारी बुझाउँदा उहाँले विदेशको शिक्षा इन्डोनेसियाको व्यावसायिक उच्च विद्यालय बराबर भएको समकक्षता प्रमाणपत्र पेश गर्नुभएको थियो । 

गत महिना इन्डोनेसियाको सर्वोच्च अदालतले उक्त कागजातलाई अमान्य घोषणा गरेको थियो । त्यसपछि संसदमा उहाँलाई पदबाट हटाउने कदम चलाइयो। 

गिब्रानले निरन्तर आफ्नो योग्यताको रक्षा गर्दै आउनुभएको छ “यदि मैले उच्च विद्यालय पास नगरेको भए म कलेज जान सक्दिनथेँ। मैले सिङ्गापुरमा स्नातकसम्म अध्ययन गरेको छु,” उहाँले भन्नुभएको छ। 

प्रबोवोसँग अब १४ दिनभित्र दुई नाम पेश गर्ने समय छ, जसमध्ये संसदले दुई महिनाभित्र गिब्रानको उत्तराधिकारी छान्नेछ । इन्डोनेसियाको सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसन्धानकर्ता आर्य फर्नान्डेसले एएफपीसँग भन्नुभयो, “प्रबोवोले सम्भवतः ‘गठबन्धनका सबै सदस्यहरूलाई स्वीकार्य उम्मेदवार खोज्नुहुनेछ ताकि जोकोवीको दल समावेश भएको गठबन्धनभित्र विभाजन नहोस्।” 

“प्रबोवोले चयन गरेको उपराष्ट्रपति उम्मेदवार सम्भावित रूपमा सन् २०२९ मा उहाँको सह–उम्मेदवार बन्न सक्छ वा राजनीतिक प्रतिस्पर्धीको रूपमा उभिन सक्छ। त्यसैले उहाँ  प्रत्येक सम्भावित उम्मेदवारका फाइदा र बेफाइदाहरूलाई ध्यानपूर्वक तौलनुहुनेछ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button