तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित 

काठमाडौँ । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ ।

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात् पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिनुभयो । 

वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ ।  वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । 

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button