तपाईँ सुन्दै हुनुहुन्छः

तिहार पर्वले सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको उज्यालो र प्रकाशको पर्व तिहारले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताउनुभएको छ ।

तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वतको सम्मान गर्ने तथा लक्ष्मी पूजामा भगवती लक्ष्मीको पूजा आराधना गरिने र भाइटीकामा दाजुभाई तथा दिदीबहिनीबीच आपसमा टीका लगाई हर्षोल्लासका साथ तिहार पर्व मनाइने राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

“मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धको स्वरूप गोवद्र्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावर बीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्शाउन दियो बाल्ने, मिठा परिकार खाने तथा देउसी भैलो खेल्ने परम्परा रहेको छ”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गर्नुभएको छ ।


तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने राष्ट्रपतिको विश्वास छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button