तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुत्केरी भएकी एक महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

त्रिवेणी नगरपालिका–७ निवासी २४ वर्षीया जलु कुमारी भण्डारी (रावत) लाई आकस्मिक उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो।

जिल्ला अस्पतालमा सुत्केरी भएलगत्तै भण्डारीमा अत्यधिक रक्तस्राव हुनुका साथै मुर्छा पर्ने र कम्पन आउनेजस्ता गम्भीर लक्षण देखिएका थिए। अवस्था नियन्त्रणबाहिर गई ज्यान नै जोखिममा परेपछि चिकित्सकहरूले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो।

अस्पतालको सिफारिस लगत्तै जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयमार्फत समन्वय गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत सेनाको हेलिकप्टर मार्फत उद्धार गरेको प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले बताउनुभयो। उद्धार गरिएकी भण्डारीको अहिले प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button