बाख्रापालनबाट दसैँ–तिहारको खर्च जुटाउँदै बाँकेका महिला किसान

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ का महिला किसान व्यावसायिक बाख्रापालनबाट आम्दानी गर्दै दसैँ तिहारको खर्च जुटाउन सफल भएका छन् ।
गाउँमा सञ्चालित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गर्दै आएका महिलाका लागि बाख्रापालन आम्दानीको भरपर्दो माध्यम बनेको छ । सहकारीमार्फत यस वर्ष हालसम्म ६ सय खसीबोका बिक्री भइसकेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँ–तिहारलाई लक्षित गरी यस वर्ष एक हजार ५ सय खसीबोका बिक्री गर्ने लक्ष्य राखिएको छ ।
“महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्री गर्न सहकारीमा ल्याएर तौल गराउनुहुन्छ । हामीले तौलका आधारमा खरिद तथा बिक्री वितरणको व्यवस्था मिलाउँदै आएका छौँ”, अध्यक्ष शाहले भन्नुभयो ।
उहाँका अनुसार व्यावसायिक रूपमा बाख्रापालनमा संलग्न महिला किसानले अहिले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेका छन् । महिलाले समूहमा आबद्ध भएर बाख्रापालन गर्न थालेपछि स्थानीयस्तरमा खसीबोकाको उत्पादन समेत बढ्दै गएको छ ।

सहकारीले किसानले उत्पादन गरेका खसीबोकाको तौल गर्ने, बजार व्यवस्थापन गर्ने र व्यापारीसम्म पुर्याउने काम गर्दै आएको छ । यसले किसान महिलालाई बजार खोज्नुपर्ने झन्झटबाट मुक्त गर्नुका साथै बिक्री प्रक्रियामा हुने सम्भावित ठगीबाट जोगिन सहयोग पुगेको छ ।
सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारका बेला उल्लेख्य सङ्ख्यामा खसीबोका बिक्री गरेर चाडपर्वको खर्च जुटाउने गरेको बताउनुभयो । उहाँका अनुसार अन्य समयको तुलनामा दसैँ–तिहारमा खसीबोकाको माग बढी हुने भएकाले किसानले यही समयमा राम्रो सङ्ख्यामा बिक्री गर्ने गरेका छन् ।
हाल सहकारीले आबद्ध किसानसँग प्रतिकिलो ६ सय रुपैयाँका दरले खसीबोका खरिद गरी व्यापारीलाई प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गर्दै आएको व्यवस्थापक गुरुङले जानकारी दिनुभयो ।
विगतमा बाँकेको कचनापुर, महादेवपुरी र फत्तेपुरलगायतका गाउँमा महिला किसानले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँसहित विभिन्न जिल्लामा बिक्री वितरण हुँदै आएका थिए । पछिल्लो समय फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले नै बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ ।
सहकारीमार्फत गठन गरिएका ५९ वटा समूहमा एक हजार ५० जना महिला किसान आबद्ध छन् । तीमध्ये करिब ६ सय जना महिलाले बाख्रापालन गर्दै आएका छन् । सहकारीले किसानलाई खसीबोका बिक्रीको व्यवस्था मिलाउनुका साथै बाख्रापालन व्यवसाय विस्तारका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको व्यवस्थापक गुरुङले बताउनुभयो ।
स्थानीय महिला किसानका लागि बाख्रापालन केवल घरखर्च चलाउने माध्यम मात्र नभई चाडपर्वको खर्च जुटाउने र व्यावसायिक आम्दानी बढाउने अवसर समेत बनेको छ । सहकारीमार्फत बजारको सुनिश्चितता हुन थालेपछि महिलालाई उत्पादन बढाउन र आफ्नो श्रमको उचित मूल्य प्राप्त गर्न थप सहज भएको छ ।








प्रतिक्रिया राख्नुहोस्