सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटमा सभामुख अर्यालले नेपालको रसुवा भोटेकोशी बाढीबाट उत्पन्न कठिन विपद्मा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगको लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको महासभामा नेपालको तर्फबाट पेश भएको “जलवायु सम्बन्धी विपद्हरूको सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रहरूको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल” विषयक आपतकालिन एजेण्डा दुई तिहाइ मतसहित स्थापित भएको विषय व्यक्त गर्नुभयो ।
साथै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूबाट जोखिममा रहेका क्षेत्रहरूमा पर्ने प्रभाव न्यूनीकरण गर्ने, विपद पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्ने र पारस्परिक संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको विषय उल्लेख गर्नुभयो ।

त्यस अवसरमा, कार्यवाहक अमेरिकी राजदूत बाउल्डिनले नेपाल र अमेरिका द्विपक्षीय सम्बन्धको ८० औँ वर्षको अवसरमा थप रचनात्मक सहकार्य गर्ने जानकारी गराउनुभयो ।
भेटमा कार्यवाहक राजदूत बाउल्डिनले विपद्को जोखिम न्यूनीकरण तथा जोखिम पूर्व सूचना प्रणालीमा अमेरिका नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको विषय जानकारी गराउनुका साथै नेपाल–अमेरिकी संसदीय मैत्री समूहबीच निरन्तर संवाद तथा सहकार्य गर्न अमेरिकी संसद् इच्छुक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्