तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति, संस्कृति र कृषिसँग जोडिँदै गाभर भ्यालीको ग्रामीण पर्यटन

बाँके। कुनै समय खेतीपातीमा सीमित बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्याली अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बनेको छ । सामुदायिक होमस्टे सञ्चालनसँगै यहाँको आर्थिक गतिविधि, स्थानीयको जीवनशैली र गाउँको पहिचानमा परिवर्तन आएको छ । प्रकृति, संस्कृति र कृषिलाई पर्यटनसँग जोडेर अघि बढेको गाभर भ्यालीले छोटो समयमै देश तथा विदेशमा छुट्टै पहिचान स्थापित गरेको छ ।

विसं २०७० मा सामुदायिक होमस्टे सञ्चालनमा आएपछि गाभर भ्यालीको पर्यटन यात्रा सुरु भएको हो । अहिले यहाँ २६ वटा होमस्टे सञ्चालनमा छन् । ती होमस्टेमा एकै दिन करिब चार सय पाहुनालाई आवास सुविधा दिन सकिन्छ । यहाँ वार्षिक करिब ३० हजार आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभर भ्याली प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परागत खानपान र ग्रामीण जीवनशैलीको अनुभव लिन चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । यहाँ आउने पर्यटकले मनोरञ्जनसँगै स्थानीय समुदायको रहनसहन, कृषि प्रणाली, जैविक विविधता र वन्यजन्तु संरक्षणबारे बुझ्ने अवसरसमेत पाउँछन् ।

गाभर भ्याली सामुदायिक होमस्टेका संस्थापक कृष्ण चौधरीका अनुसार यहाँको पर्यटन अवधारणा प्रकृति, संस्कृति र कृषिमा आधारित छ । पर्यटकलाई घुमाउने र बसोबासको सुविधा दिने मात्र नभई स्थानीय ज्ञान, सीप र अभ्याससँग परिचित गराउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको उहाँ बताउनुहुन्छ ।

“प्रकृति, संस्कृति र कृषि गरी तीनवटा विषयमा पाहुनाका लागि सिकाइको केन्द्रका रूपमा गाभर भ्याली स्थापित भएको छ । यसबारे बुझ्न चाहनेहरूका लागि यो खुला विश्वविद्यालयजस्तै सिकाइ केन्द्र हो,” चौधरीले भन्नुभयो ।

गाभर भ्यालीमा पर्यटकले प्रकृतिसँग नजिक रहेर विभिन्न गतिविधिमा सहभागी हुन पाउँछन् । जिप सफारी, जङ्गल वाक, चुरे हाइकिङ, माटो थेरापी, जङ्गल बाथिङ, फिस मसाज र नाइट क्याम्पिङ यहाँका प्रमुख आकर्षण हुन् । स्थानीय संस्कृति, रीतिरिवाज, परम्परा र नाचगानको प्रस्तुतिले पनि पर्यटकलाई ग्रामीण जीवनसँग जोड्ने गरेको छ ।

वन्यजन्तु संरक्षणसँग जोडिएको पर्यटन

गाभर भ्यालीको अर्को विशेषता वन्यजन्तु संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास हो । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका समुदायले पाटेबाघलगायत वन्यजन्तुको संरक्षणबाट पर्यटनका अवसर सिर्जना गर्न सकिने अभ्यास अघि बढाएका छन् । वन्यजन्तु अवलोकन, जङ्गल सफारी र प्रकृतिमा आधारित गतिविधिमार्फत स्थानीयले आयआर्जनको अवसर पाउँदै आएका छन् ।

स्थानीय समुदायले वन तथा वन्यजन्तुको संरक्षणलाई पर्यटन विकासको आधार मानेका छन् । वन्यजन्तुको बासस्थान सुरक्षित राख्न सके पर्यटकको आकर्षण बढ्ने र त्यसबाट स्थानीय अर्थतन्त्रमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य तथा वन तथा वातावरण समितिका संयोजक मञ्जु ओली वन र वातावरण संरक्षणलाई पर्यापर्यटन विकाससँग जोड्नुपर्ने बताउनुहुन्छ ।

“वन र वातावरण संरक्षण भएपछि मात्र वन्यजन्तुको सङ्ख्या बढ्ने हो । वन्यजन्तु हेर्नकै लागि पर्यटक बैजनाथमा घुम्न आउने हुन्,” उहाँले भन्नुभयो ।

पर्यटन विस्तार गर्दा वन्यजन्तुको बासस्थान, जैविक विविधता र प्राकृतिक वातावरणमा नकारात्मक असर नपर्ने गरी गतिविधि सञ्चालन गर्नु आवश्यक छ । जिम्मेवार पर्यटनको अभ्यासले वन संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रैथाने कृषि र जैविक विविधताको संरक्षण

गाभर भ्यालीले पर्यटनलाई कृषि र जैविक विविधताको संरक्षणसँग जोड्ने प्रयाससमेत गरेको छ । होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार उपलब्ध गराइन्छ । स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदा किसानले उत्पादन गरेका अन्नबाली तथा कृषि उपजको बजार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

रैथाने अन्नबालीको संरक्षण र प्रवद्र्धन गर्दै किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले यहाँ सामुदायिक जिन बैंक स्थापना गरिएको छ । यसअन्तर्गत अन्नबाली, घाँसेबाली, पशुपन्छी, जलीय स्रोत र सूक्ष्म जीवाणुलगायत विभिन्न प्रकारका आनुवंशिक स्रोतको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास भइरहेको छ ।

होमस्टेका संस्थापक चौधरीका अनुसार परम्परागत कृषि प्रणालीमा रहेका उपयोगी बीउबिजन, स्थानीय जातका बाली र अन्य आनुवंशिक स्रोतको संरक्षण गर्नु यस अभ्यासको मुख्य उद्देश्य हो । कृषि जैविक विविधताको संरक्षणसँगै स्थानीय किसानलाई आफ्नो उत्पादनको मूल्य र महत्त्व बुझाउन पनि यसले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

पर्यटन र कृषि संरक्षणलाई एकीकृत गर्ने यस अभ्यासले स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्ने सम्भावना देखाएको छ । रैथाने खाद्यान्न, परम्परागत परिकार र स्थानीय कृषि प्रणालीलाई पर्यटकीय अनुभवका रूपमा विकास गर्न सके किसानको आम्दानी बढाउनुका साथै मौलिक खाद्य संस्कृतिको संरक्षणमा पनि योगदान पुग्न सक्छ ।

स्थानीय सरकारको प्राथमिकतामा पर्यटन पूर्वाधार

गाभर भ्यालीको पहिचान विस्तारसँगै बैजनाथ गाउँपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माण गर्नुका साथै सडक, बत्ती र पार्कलगायत पूर्वाधार विकासमा जोड दिएको छ ।

गाभर भ्यालीसँगै मिनी गाभर सामुदायिक होमस्टे, सुतैया अर्थात् कन्वाताल, मानसरोवर स्मारक पार्क, थारु भिलेज ग्राम, गिद्देनीताल र सिम्रहवाताललगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।

बैजनाथ गाउँपालिका–१ का वडाध्यक्ष रूपबहादुर मल्ल गाभर भ्यालीले गाउँपालिका मात्र नभई समग्र क्षेत्रको पहिचान स्थापित गर्न योगदान दिएको बताउनुहुन्छ ।

“गाभर भ्यालीले हाम्रो गाउँपालिकाको पहिचान दिएको छ । यसको प्रवद्र्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो तर्फबाट लगानी गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाभर भ्याली होमस्टेसहित बैजनाथ क्षेत्रका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

“गाभर भ्यालीले आफ्नो ब्रान्ड नै बनाइसकेको छ । अहिले यो ठाउँमा स्वदेशी र विदेशी पर्यटक आउँछन्,” उहाँले भन्नुभयो ।

स्थानीय सरकारको लगानीसँगै सामुदायिक सहभागिता र निजी पहलले गाभर भ्यालीको पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुगेको छ । यद्यपि, पर्यटनलाई दीर्घकालीन र स्थानीयमैत्री बनाउन पूर्वाधारको गुणस्तर, सेवा सुविधाको सुधार, पर्यटकको सुरक्षा, सरसफाइ र वातावरण संरक्षणमा निरन्तर ध्यान दिनुपर्ने देखिन्छ ।

गाभर भ्यालीको अनुभवले ग्रामीण पर्यटनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके स्थानीय स्रोतसाधन, संस्कृति र कृषि उत्पादनलाई आयआर्जनसँग जोड्न सकिने देखाएको छ । होमस्टेमा पर्यटकको आवागमन बढ्दा आवास, खानपान, स्थानीय उत्पादन र पर्यटनसँग सम्बन्धित अन्य सेवाको मागसमेत विस्तार हुने सम्भावना रहन्छ ।

स्थानीय समुदायको सक्रियता, वन्यजन्तु संरक्षण, रैथाने कृषि र सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्ने अभ्यासले गाभर भ्यालीलाई अन्य ग्रामीण बस्तीका लागि पनि सिकाइको केन्द्र बनाएको छ ।

अबको चुनौती यसले बनाएको पहिचानलाई दिगो बनाउँदै पर्यटनबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुर्‍याउनु हो । वन तथा वन्यजन्तुको संरक्षण, रैथाने कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय पर्यटकीय सेवा र योजनाबद्ध पूर्वाधार विकासलाई निरन्तरता दिन सके गाभर भ्यालीले ग्रामीण पर्यटनको सफल उदाहरणका रूपमा आफ्नो पहिचान अझ विस्तार गर्न सक्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button