तपाईँ सुन्दै हुनुहुन्छः

खोरियामा व्यावसायिक पशुपालनबाट रोजगारी र आम्दानी बढ्दै

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित खोरिया गाउँमा व्यावसायिक पशुपालन ग्रामीण रोजगारी र आम्दानीको आधार बन्दै गएको छ। घरायसी आवश्यकतामा सीमित पशुपालन आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापनसँग जोडिन थालेपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानको आयआर्जनको अवसरसमेत बढेको छ।

खोरियामा सञ्चालित जननी पशुपालन फर्मले स्थानीय स्रोतसाधनको उपयोग गर्दै पशुपालनलाई व्यावसायिक रूप दिएको छ। करिब डेढ करोड रुपैयाँ लगानीमा सञ्चालित फर्मले दूध उत्पादनसँगै स्थानीयलाई रोजगारीसमेत प्रदान गर्दै आएको छ।

करिब तीन बिघा क्षेत्रफलमा फैलिएको फर्ममा होलिस्टन फ्रिजियन र जर्सी जातका १० वटा गाई, हरियाणा जातका पाँच वटा भैँसी, एउटा साँढे तथा करिब एक सय ५० वटा बाच्छाबाच्छी र पाडापाडी छन्। फर्मबाट दैनिक करिब एक सय २० लिटरसम्म दूध उत्पादन भइरहेको सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीले जानकारी दिनुभयो।

उत्पादित दूध स्थानीय बजारका साथै कोहलपुर, नेपालगञ्ज, अगैया र शमशेरगञ्जसम्म बिक्रीका लागि पठाउने गरिएको उहाँले बताउनुभयो। बजारको मागअनुसार गुणस्तरीय दूध उत्पादन गर्न सके बिक्रीको समस्या नहुने उहाँको भनाइ छ।

फर्मले मासिक करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको दूध बिक्री गर्दै आएको छ। दूध बिक्रीबाट सञ्चालन खर्च कटाएर मासिक करिब एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवस्थापक खत्रीले बताउनुभयो। उहाँका अनुसार फर्मको उद्देश्य दूध बिक्रीमा मात्र सीमित नभई गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग बढाउने र समुदायको आयआर्जनमा योगदान पुर्‍याउने रहेको छ।

फर्ममा हाल सात जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। गाउँमै रोजगारीको अवसर सिर्जना हुन थालेपछि स्थानीय युवा तथा महिला पनि पशुपालन व्यवसायप्रति आकर्षित हुन थालेका छन्। खेतीपाती र परम्परागत पशुपालनमा निर्भर परिवारका लागि व्यावसायिक पशुपालन आम्दानीको थप विकल्प बनेको छ।

‘यहाँ घाँसे मैदान र वन क्षेत्र पर्याप्त छन्। पशुपालनका लागि आवश्यक वातावरण पनि अनुकूल छ। उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्न सकियो भने गाउँमै राम्रो व्यवसाय सञ्चालन गर्न सकिन्छ,’ व्यवस्थापक खत्रीले भन्नुभयो।

राप्तीसोनारी गाउँपालिकाका विभिन्न बस्तीमा खेतीपातीसँगै गाई, भैँसी र बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको स्थानीय किसान गोर्खु चौधरी बताउनुहुन्छ। उहाँका अनुसार पहिले घरायसी प्रयोजनका लागि गाईभैँसी पाल्ने किसान अहिले दूध बिक्री गरेर आम्दानी गर्ने उद्देश्यले पशुपालनमा संलग्न हुन थालेका छन्।

‘पहिले घरमा दूधका लागि गाईभैँसी पालिन्थ्यो। अहिले बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यले पशु पाल्न थालिएको छ,’ चौधरीले भन्नुभयो।

जननी पशुपालन फर्मले परम्परागत पशुपालनलाई आधुनिक प्रविधि र व्यवस्थापनसँग जोडेर उत्पादन बढाउने प्रयास गरिरहेको छ। पशुको स्वास्थ्य, आहार व्यवस्थापन र दूध उत्पादनमा ध्यान दिँदै स्थानीयस्तरमा उपलब्ध घाँस तथा अन्य स्रोतको उपयोगमार्फत उत्पादन लागत घटाउने प्रयास भइरहेको व्यवस्थापक खत्रीले बताउनुभयो।

व्यावसायिक पशुपालनको विस्तारले दूध उत्पादन र बिक्रीमा मात्र नभई स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याएको छ। पशुका लागि घाँस उत्पादन, श्रमको उपयोग, दूध सङ्कलन र बजारसम्म ढुवानी गर्ने गतिविधिले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ।

फर्मले आगामी दिनमा पशुको सङ्ख्या वृद्धि गर्ने, दूध उत्पादन क्षमता बढाउने र बजार विस्तार गर्ने योजना बनाएको छ। उत्पादित दूध प्रशोधन गरी दही, घिउ र पनिरजस्ता दुग्धजन्य वस्तु उत्पादन गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको व्यवस्थापक खत्रीले जानकारी दिनुभयो।

दूध प्रशोधन तथा दुग्धजन्य वस्तु उत्पादन सुरु गर्न सके स्थानीय उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

खोरियामा सञ्चालित जननी पशुपालन फर्मले स्थानीय स्रोतसाधन, बजारको माग र आधुनिक व्यवस्थापनलाई एकीकृत गरेर ग्रामीण क्षेत्रमा पशुपालनलाई आयआर्जनको माध्यम बनाउन सकिने सम्भावना देखाएको छ। यस्ता व्यवसायको विस्तार, उत्पादनको बजारीकरण र प्रशोधनमा जोड दिन सके राप्तीसोनारीका ग्रामीण बस्तीमा पशुपालन रोजगारी र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button