तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत–बागलुङ जोड्ने मालढुंगा पुल सञ्चालनमा

पर्वत । कालीगण्डकी नदीमा असोज १० गते राती आएको बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध बनेको पर्वत र बागलुङ जोड्ने मालढुंगा मोटरेबल पुल १६ दिनपछि सञ्चालनमा आएको छ । असोज ११ गते बिहानदेखि बाढीले पुलको पूर्वी भागको पहुँच मार्ग बगाएपछि पोखरा–बागलुङ सडकखण्डमा सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । 

दसैँको समयमा यात्रु तथा स्थानीयवासीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै सोमबार बिहान १० बजेर ४५ मिनेटदेखि पुलमा सवारी आवागमन खुलाइएको हो । पुल सञ्चालनमा आएसँगै पर्वत र बागलुङसहित कर्णालीका विभिन्न जिल्लातर्फ जाने यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ ।

पुल मर्मतका लागि सडक डिभिजन कार्यालय पोखरा, नेपाली सेना, स्थानीयवासी तथा पर्वत र बागलुङका विपद् व्यवस्थापनसम्बन्धी निकायले निरन्तर काम गरेका थिए । बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले सबै पक्षको पहल र सक्रियतामा मर्मत कार्य सुरु भएको १३ दिनमै यातायात सञ्चालन गर्न सकिने गरी काम सम्पन्न भएको बताउनुभयो । 

सडक डिभिजन कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर कृष्णराज अधिकारीका अनुसार नदीको सतहदेखि करिब २४ मिटर अग्लो भागमा ग्याबिन जालीसहितको पर्खाल निर्माण गरी अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको हो । पहिलो चरणको काममा करिब दुई करोड रुपैयाँ खर्च भएको अनुमान गरिए पनि विस्तृत लागत विवरण तयार हुन बाँकी छ । पुल सञ्चालनमा आएपछि यात्रु, स्थानीयवासी तथा जनप्रतिनिधिले खुसी व्यक्त गर्दै स्वागत गरेका थिए ।

पुलको दायाँबायाँ सुरक्षा पर्खाल निर्माण तथा दीर्घकालीन व्यवस्थापनका काम भने बाँकी छन् । चाडपर्वका बेला आवागमन सहज बनाउन तत्कालका लागि पुल सञ्चालनमा ल्याइएको र तिहारपछि दिगो व्यवस्थापनको काम अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button