प्रधानमन्त्री कार्यालयको प्रेस ब्रिफिङ: अध्यादेश सिफारिसदेखि हेलो सरकारको प्रगति विवरण सार्वजनिक
'चाडपर्वमा बजार अनुगमन तीव्र पारिने'
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नियमित साप्ताहिक प्रेस ब्रिफिङमार्फत सरकारका प्रमुख निर्णय, कानुनी सुधार, चाडपर्व लक्षित योजना तथा हेलो सरकारको प्रगति विवरण सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्को असोज २१ गतेको बैठकले भूमिसम्बन्धी, विपद्सम्बन्धी र वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेका तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। त्यसैगरी, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली कार्यविधि, २०८३’ को मस्यौदा तयार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
चाडपर्व र सम्भावित विपद् पश्चात् आपूर्ति शृङ्खलामा पर्न सक्ने दबाबलाई ध्यानमा राख्दै केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले अत्यावश्यकीय वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने निर्णय गरेको छ। बजारमा कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि रोक्न नियमित तथा आकस्मिक अनुगमन तीव्र पारिनेछ। चाडपर्वमा सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र मापसे गरी सवारी चलाउनेमाथि कडा कारबाही गरिनेछ। जोखिमयुक्त निर्माणाधीन तथा ग्रामीण सडकमा सवारी आवागमनमा रोक लगाइनुका साथै सार्वजनिक बिदाका दिनमा पनि अस्पताल, विद्युत्, खानेपानी, दूरसञ्चार र यातायातजस्ता अत्यावश्यकीय सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

नेपाल सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा असोज १८ को निर्णयानुसार स्वीकृत पुनर्स्थापना र सामाजिक संरक्षणको एकीकृत प्याकेज कार्यान्वयनका लागि गठित समितिको असोज १५ गतेको बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
विभिन्न मन्त्रालय र निकायहरूबाट माग भई आएका eGP V2, SuTRA 2.0, नागरिक एप, हेलो सरकार र GIOMS लगायतका नौवटा राष्ट्रिय महत्त्वका प्रणालीहरूको विकास, परिमार्जन तथा स्तरोन्नतिका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) मार्फत जनशक्ति भर्ना प्रक्रिया अघि बढाइएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म रु. १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ जम्मा भएको छ। जसमध्ये रु. १ अर्ब राष्ट्रिय विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको र स्थानीय तहको मागअनुसार रकम पठाउने क्रम जारी छ।
यसैबीच, असोज १८ देखि २२ गतेसम्म हेलो सरकारमा प्राप्त १,७५५ गुनासामध्ये १,१७४ वटाको समाधान गरिएको छ। प्राप्त गुनासाहरूमा दशैँ भत्ता भुक्तानी, ग्यास अभाव, भाडावृद्धि र मलखादको समस्या प्रमुख रहेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले असोज १ देखि २० गतेसम्म विभिन्न कार्यालयका १,१६७ जना पोसाक र समय पालन नगर्ने कर्मचारीलाई कारबाहीका लागि निर्देशनसमेत दिएको छ।







प्रतिक्रिया राख्नुहोस्