रसुवा बाढीपीडितका लागि सोलुदूधकुण्ड नगरपालिकाद्वारा ६६ लाख राहत सहयोग

सोलुखुम्बु।सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि करिब ६६ लाख रुपियाँ राहत रकम उपलब्ध गराएको छ।
प्राकृतिक विपत्तिको कठिन घडीमा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय ऐक्यबद्धतास्वरूप उक्त रकम सहयोग गरिएको हो। जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको सामूहिक दायित्व र सद्भावअन्तर्गत विभिन्न कोषमा रकम जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले बाढीपीडितको राहतका लागि स्थानीय विपद् कोषमा ७ लाख २३ हजार रुपियाँ जम्मा गरेका छन्।
यसैगरी, नगरपालिकाअन्तर्गतका स्थायी, करार, राहत तथा दरबन्दी सिकाइ अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरूका तर्फबाट २४ लाख ८९ हजार ३०१ रुपियाँ तथा प्रशासनिक कर्मचारीका तर्फबाट ७ लाख ९३ हजार २८ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सम्पर्कविहीन ५२ परिवारलाई २५ लाखभन्दा बढी राहत
बाढीपछि सम्पर्कविहीन रहेका सोलुखुम्बुका स्थानीय ५२ जनाको परिवारलाई नगरपालिकाले प्रतिपरिवार ५० हजार रुपियाँका दरले कुल २६ लाख रुपियाँ (२६ लाख रुपियाँ बराबरको कोष) नगद राहत उपलब्ध गराएको छ।
पर्यटन तथा निर्माण क्षेत्रको कामका सिलसिलामा रसुवा पुगेर बेपत्ता/सम्पर्कविहीन भएका ५२ जना जिल्लावासीका परिवारलाई नगर कार्यपालिकाको निर्णयबमोजिम राहत वितरण गरिएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए।
विपत्तिको यस घडीमा आफ्नो पदीय र नागरिक दायित्व बोध गरी स्वतःस्फूर्त रूपमा राहत कोषमा रकम योगदान गर्ने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।








प्रतिक्रिया राख्नुहोस्