वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र पुँजी उपयोग गर्नुपर्नेमा जोड
विराटनगर । श्रम आप्रवासनमा जाने नेपालीको संख्या बढ्दै गएको गएकाले सुरक्षित आप्रवासनलाई व्यवस्थित बनाउन राज्यका तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको विराटनगरमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरू कुनै न कुनै क्षेत्रमा दक्ष र अनुभवी हुने भएकाले त्यसको सही उपयोग हुनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
विराटनगरमा आज आयोजित ‘सुरक्षित आप्रवासन प्रवद्र्धनका लागि कोशी प्रदेशस्तरीय नीतिगत संवाद तथा पैरवी सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम’का सहभागीहरूले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले आर्जन गरेको सीप र अनुभवको भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिलातथा कानुनमन्त्री गोम्वु शेर्पाले वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता भएकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उपयुक्त र सम्मानजनक रोजगारीको अवसर सृजना गर्न तिनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरूले आर्जन गरेको पुँजीलाई स्वदेशमै लगानी गर्ने वातावरण निर्माण गर्नु तीनै तहका सरकारको दायित्व रहेको उहाँको भनाई थियो ।
मन्त्री शेर्पाले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माणका लागि प्रदेश सरकारले समन्वय गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बताउनुभयो ।
नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकाले कारितास नेपालसँगको सहकार्यमा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कारितास जापानको सहकार्यमा कारितास नेपाल र झापाको कनकाई नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङ राई, सुनसरीको गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरी, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य लखनलाल साह लगायतले सुरक्षित आप्रवासनका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कारितास नेपालका शङ्कर पौडेलले कनकाई नगरपालिकामा सञ्चालित परियोजनाबाट प्राप्त सिकाइ, अनुभव तथा स्थानीय तहमा देखिएका समस्याबारे प्रस्तुति दिनुभएको थियो ।
विषय विज्ञ फणिन्द्र दाहालले सुरक्षित आप्रवासनको वर्तमान अवस्था, प्रमुख समस्या, सेवा प्रवाहमा देखिएका कमी तथा कानुनी एवं नीतिगत विषयमा प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा सुरक्षित आप्रवासनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्थानीय तहदेखि प्रदेश तथा संघीय तहसम्म नीतिगत समन्वय, सीप विकास, पुनः एकीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र पुँजीलाई स्वदेशमै परिचालन गर्ने विषयमा छलफल गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्