तपाईँ सुन्दै हुनुहुन्छः

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी(जोमसोम(कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो ।

सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा आज ड्रोनबाट डिजेल ढुवानी गरिएको हो । रघुगङ्गा गाउँपालिका-२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ ।

बेनी(जोमसोम(कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बेनीबाट सवारीसाधनमा कुनौटासम्म लगिएको डिजेल ड्रोनको सहायताले कटान क्षेत्र पार गराइएको हो । “मानिसले बोकेर लैजान सम्भव नभएपछि ड्रोनको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो, “छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएको छ ।” उहाँका अनुसार कुनौटाबाट सेनाको टोलीले डिजेल अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म पुर्‍याएको छ ।

शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौँबाट आएका प्राविधिक जनशक्तिको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरिएको बताउनुभयो। कुनौटामा एक पटकमा १२० लिटरका दरले डिजेल ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । सेनाले यसअघि रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न पनि ड्रोन प्रयोग गरेको थियो । रघुगङ्गा-३ तिल्केनीचौरबाट बैसरीसम्म डिजेल ढुवानी गर्न शनिबार पनि नेपाली सेना र स्वयंसेवकले सहयोग गरेका थिए ।

कालीगण्डकीको बाढी र कटानबाट क्षतिग्रस्त सडक मर्मतमा करिब २० वटा डोजर र सयौँ मजदुर परिचालन भएका छन् । पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे र तिल्केनीचौरमा सडक मर्मत भइरहेको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । “पोखरेबगर सडक पुलको पहुँच मार्गसमेत मर्मत भइरहेको छ। सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन समानान्तर रूपमा काम गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

पर्वतको मालढुङ्गाबाट चीनको सीमावर्ती कोरला नाकासम्म सडकको दूरी २०२ किलोमिटर छ । म्याग्दीको कुनौटा-पोखरेबगर क्षेत्रमा करिब १२ किमी सडक मर्मत गर्न बाँकी छ । अन्य स्थानमा मर्मतपछि एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको उहाँले बताउनुभयो । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ(तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी(जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button