रौतहटको इँटा भट्टामा अलपत्र ४२ भारतीय श्रमिकको उद्धार
रौतहट। रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटा भट्टामा अलपत्र परेका ४२ जना भारतीय श्रमिक तथा उनीहरूका आश्रित बालबालिकाको प्रहरीले उद्धार गरेको छ ।

भारतबाट ठेकेदारमार्फत काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जना श्रमिक तथा उनीहरूका आश्रित परिवार अलपत्र परेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूलाई भारतबाट ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे श्रमिकहरू अलपत्र परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । आवश्यक अनुसन्धानपछि साँझ ५ बजे ४२ जना श्रमिक तथा उनीहरूका आश्रित परिवारलाई उद्धार गरी ना।७ ख १६७५ नम्बरको बसमा गौर भन्सारतर्फ पठाइएको थियो ।
गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) अन्तर्गत एएचटीयू २० बटालियन एफ कम्पनी, बर्गिनियाका प्रहरीलाई सकुशल जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।
उद्धार गरिएका सबै भारतीय नागरिक रहेको र उनीहरूलाई सुरक्षित रूपमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्