दशैं–तिहार लक्षित बैतडीका १३ स्थानमा नागरिक सहायता कक्ष
बैतडी। दशैं–तिहारलाई लक्षित गर्दै बैतडीका १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्लाका गोठलापानी, पाटन, खोडपे, पुर्चौडी, मेलौली र गाजरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा रहेका विभिन्न प्रहरी चौकीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने, यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोको सुनुवाइ गर्ने र आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधिबाट सर्वसाधारणलाई सुरक्षित राख्न आवश्यक समन्वय र सहजीकरणसमेत सहायता कक्षबाट गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला हुने सवारी चाप र यात्रुको भीडलाई मध्यनजर गर्दै नागरिकलाई सहज र सुरक्षित यात्रा गराउन सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ ।







प्रतिक्रिया राख्नुहोस्