तपाईँ सुन्दै हुनुहुन्छः

आइपियुको १५३औँ महासभामा सहभागी हुन सभामुख अर्याल तान्जानिया प्रस्थान

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ ।

सभामुख अर्याल आज साँझ ७ः०० बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट तान्जानियातर्फ प्रस्थान गर्नुभएको सभामुख अर्यालको निजी सचिवालयले जनाएको छ । 

प्रतिनिधिमण्डलमा सभामुखको धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभाका सदस्य रविन महतो, राष्ट्रियसभाका सदस्यहरू झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी हुनुहुन्छ ।

साथै, प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ । 

तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ । 

महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ । महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

महासभाको पहिलो दिन, ५ अक्टोबर २०२६ सोमबार (१९ असोज २०८३) प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवको बैठक हुनेछ । 

त्यसैगरी, एसिया प्रशान्त समूहको बैठक तथा महिला सांसदहरूको मञ्चको कार्यक्रम आयोजना हुनेछ । यसै दिन थाइल्यान्डको राष्ट्रियसभाको माथिल्लो सदनका सभामुख मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ । 

साथै, अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल तथा चीनको राष्ट्रिय जनकङ्ग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ । यसै दिन महासभाको औपचारिक उद्घाटन समारोह हुनेछ ।

दोस्रो दिन, ६ अक्टोबर २०२६ मङ्गलबार (२० असोज २०८३) प्रतिनिधिमण्डलले लेक न्यासा भवनस्थित लेक न्यासा हलमा आयोजना हुने गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछ । यसैदिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।

यसैदिन लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा सशक्तीकरण प्रवद्र्धनका लागि संसदीय रणनीतिसम्बन्धी मस्यौदा प्रस्तावमाथि छलफल तथा पूर्ण बैठकमा प्रस्ताव लेखनको कार्य सुरु हुनेछ । शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगका कारण उत्पन्न चुनौतीबीच शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनासम्बन्धी विषयमा प्यानल छलफल हुनेछ ।

यसैदिन ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण’ विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ । साँझ तान्जानियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

तेस्रो दिन, ७ अक्टोबर २०२६ बुधबार ९२१ असोज २०८३० महासभाको सामान्य छलफल निरन्तर सञ्चालन हुनेछ । संयुक्त राष्ट्रसङ्घीय मामिलासम्बन्धी स्थायी समितिमा सुधारिएको संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रतिबिम्बका रूपमा तान्जानियामा रहेको संयुक्त राष्ट्रसङ्घीय देश टोलीसम्बन्धी प्यानल छलफल हुनेछ । 

साथै, ‘अझ प्रभावकारी र प्रतिनिधिमूलक संयुक्त राष्ट्रसङ्घतर्फ’ शीर्षकको प्रस्तावमाथि छलफल गरी संयुक्त राष्ट्रसङ्घको बडापत्र पुनरावलोकनसम्बन्धी सम्मेलन आह्वान गर्ने प्रस्तावमाथि निर्णय हुनेछ । लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावको पूर्ण बैठकमा लेखनकार्य सम्पन्न गरिनेछ । दिगो विकाससम्बन्धी स्थायी समितिमा सन् २०३० सम्म पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण तथा ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा तथा महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकासम्बन्धी विज्ञ छलफल हुनेछ ।  उक्त समितिको ब्युरोका लागि निर्वाचन हुनेछ । महासभामा सामान्य छलफललाई निरन्तरता दिइनुका साथै क्रेमर पासी पुरस्कार प्रदान गर्ने तथा आकस्मिक विषयमाथि मतदान गर्ने कार्यक्रम रहेको छ ।

चौथो दिन, ८ अक्टोबर २०२६ बिहीबार ९२२ असोज २०८३० संयुक्त राष्ट्रसङ्घीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय संयन्त्रले कसरी काम गर्छ भन्ने विषयमा ग्रुप छलफल तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ । महासभामा आकस्मिक विषयमाथि छलफलका साथै सामान्य छलफललाई निरन्तरता दिइनेछ ।

दिगो विकाससम्बन्धी स्थायी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्यसम्बन्धी प्यानल छलफल, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनमा हुने संसदीय बैठकका लागि तयारी तथा समितिको ब्युरोका लागि निर्वाचन हुनेछ । महासभामा अन्तरव्यवस्थापिका सङ्घका प्रस्ताव तथा अन्य निर्णयको कार्यान्वयनसम्बन्धी विशेष जबाफदेहिता सत्र आयोजना हुनेछ र सामान्य छलफल सम्पन्न गरिनेछ ।

लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्ताव पारित गर्ने तथा समितिको ब्युरोका लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । पाँचौँ दिन, ९ अक्टोबर २०२६ शुक्रबार ९२३ असोज २०८३० लेक न्यासा भवनस्थित लेक न्यासा हलमा अन्तरव्यवस्थापिका सङ्घको गभर्निङ काउन्सिलको बैठक हुनेछ । बैठकमा अन्तरव्यवस्थापिका सङ्घको अध्यक्षको निर्वाचन, सांसदहरूको मानव अधिकारसम्बन्धी विषयमा निर्णय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यसपछि महासभाको बैठकमा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्ताबेज पारित गर्ने तथा अन्तरव्यवस्थापिका सङ्घको विधानमा प्रस्तावित संशोधन अनुमोदन गर्ने कार्यक्रम रहेको छ । महासभाको समापनपछि प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबीतर्फ प्रस्थान गर्नेछ ।

महासभापछिको कार्यक्रमअन्तर्गत छैटौँ दिन १० अक्टोबर २०२६ शनिबार ९२४ असोज २०८३० नैरोबीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ११ अक्टोबर २०२६ आइतबार ९२५ असोज २०८३० नैरोबी सहरको भ्रमण गरी यहाँका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन तथा स्थानीय जीवनशैलीबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

अक्टोबर १२ मा ९२६ असोज २०८३० केन्याको संसद् भवनस्थित समिति कक्षमा उपसभामुख तथा सांसद माननीय ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संसदीय बजेट कार्यालयसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button