देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो ।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उहाँले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो ।
“अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?”, उहाँले भन्नुभयो ।
उहाँले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । “त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ”, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो ।
उहाँले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिनुभयो । “अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्