तपाईँ सुन्दै हुनुहुन्छः

चुमनुब्रीमा स्याउ उत्पादन बढे पनि बजारको समस्या

गोरखा ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ । प्रोक, विहि र ल्हो क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि व्यावसायिक रूपमा स्याउ उत्पादन हुँदै आए पनि सडक सुविधा नहुँदा किसानले उत्पादन बजारसम्म पुर्‍याउन सास्ती खेपिरहेका छन् ।

हिमाली हावापानीमा स्याउ खेतीको सम्भावना देखिएपछि स्थानीय किसानले लगानी बढाउँदै लगेका छन् । बगैँचामा स्याउ लटरम्म फल्न थाले पनि ढुवानीको उचित व्यवस्था नहुँदा उत्पादन खेर जाने र लागत बढ्ने समस्या रहेको किसानहरू बताउँछन् ।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा सञ्चालित एक व्यावसायिक स्याउ फार्ममा अहिले स्याउ टिप्ने चटारो छ । समुद्री सतहबाट दुई हजार ६५० मिटर उचाइमा रहेको उक्त फार्ममा गाला र गोल्डेन डेलिसियस जातका स्याउ टिप्न थालिएको सञ्चालक लाक्पा डुण्डुप लामाले बताउनुभयो ।

लामाका अनुसार फार्ममा गाला, गोल्डेन डेलिसियस र फुजी जातका १२ हजार पाँच सय बोट छन् । यस वर्ष करिब एक लाख किलो स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

‘बगैँचामा स्याउ राम्रो फलेको छ, तर बजारसम्म पुर्‍याउने बाटो छैन’‘बर्खाले काठे पुलसमेत बगाएको छ । खच्चड हिँडाउनसमेत समस्या छ । हेलिकोप्टरबाट ढुवानी गर्दा लागतले धान्दैन ।’

खच्चडबाट ढुवानी गर्दा बाटोको कठिनाइका कारण २० देखि २५ प्रतिशतसम्म स्याउ नोक्सान हुने गरेको गरेको छ । उत्पादन बढे पनि ढुवानी समस्याले किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन् । 

फार्मले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ र ‘गोरखा स्याउ’ नामबाट बजारमा चिनाउने प्रयास गरेको छ । तर, बजारमा भारत र चीनबाट आयातित स्याउ पुगिसक्दा स्थानीय उत्पादन भने ढुवानीकै समस्याले बजारसम्म गोरखाको स्याउ पुग्न सकेको छैन । 

चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको व्यावसायिक स्याउ फार्ममा पनि यस वर्ष राम्रो उत्पादन भएको छ । समुद्री सतहबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको उक्त फार्ममा पाँच हजार स्याउका बोटमा फल लागेका छन् । 

फार्म सञ्चालक छिरिङ दोर्जे गुरुङका अनुसार गाला, फुजी र गोल्डेन डेलिसियस लगायत जातका स्याउ उत्पादन हुँदै आएका छन् । चार वर्षअघि उत्पादन सुरु भएको फार्ममा पहिलो वर्ष नौसय सय किलो स्याउ उत्पादन भएको थियो । गएको उत्पादन बढेर छ हजार किलो पुगेको र यस वर्ष अझै दोब्बर हुने सम्भावना रहेको छ । 

ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोजनका लागि स्याउ खेती गर्दै आएका छन् । अहिले स्याउको बजार भनेको यहाँ आउने पर्यटकहरू नै हुन्  । सयौँका सङ्ख्यामा आएका विदेशी पर्यटकहरूले यहाँको स्याउ मन पराइरहेका छन् । उनीहरुलाई विक्री गर्दा केही खपत हुने गरेको किसानहरुले बताएका छन् । 

चुमनुब्रीमा व्यावसायिक स्याउ खेतीप्रति आकर्षण बढ्दै गए पनि सडक तथा ढुवानी पूर्वाधारको अभावले किसानको उत्साहमा चुनौती थपिएको छ । उत्पादनलाई सुरक्षित रूपमा बजारसम्म पुर्‍याउन सडक, ढुवानी र सङ्कलन केन्द्रको व्यवस्था हुन सके स्याउ खेती स्थानीयको आम्दानी र रोजगारीको भरपर्दो आधार बन्न सक्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button