पुम्दी–भुम्दी पर्वतीय दौडका लागि ८० बढी धावक सूचीकृत
पोखरा । खेलकुदको शहर पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितामा करिब २५० जना धावक सहभागी गराउने तयारी गरिएको छ । प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिताका लागि यही असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजक पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिक प्रा.लि.ले जनाएका छन् । खेल पर्यटनमार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई समेत जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनुभयो ।
पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित असोज २४ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको हो । विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घडेरी बुद्ध पार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीन हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्