स्रोत नखुलेको भारतीय रकमसहित रौतहटमा दुई जना पक्राउ
रौतहट। रौतहटको गौरस्थित भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय नगदसहित दुई जना पक्राउ परेका छन् ।
गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ पौने आठ बजेको समयमा संयुक्त सुरक्षा टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शङ्का लागेर जाँच गर्दा स्रोत नखुलेको भारतीय रुपैयाँ बरामद भएको हो ।
पक्राउ पर्नेमा भारतको सिवहर जिल्ला, रामपुर भटहा थाना बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन् ।
भन्सार सुरक्षा गार्ड रौतहटका प्रहरी नायब निरीक्षक दीपककुमार यादवको कमान्डमा तीन जना तथा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमान्डमा खटिएको सात जनाको संयुक्त चेकप्वाइन्ट टोलीले उनीहरूलाई जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ एक लाख आठ हजार पाँच सय र एक थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद रकम र मोबाइलसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार सुरक्षा गार्ड रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्