प्रकृति संरक्षणको सन्देशसहित जनकपुरधामबाट ५२ दिने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु

जनकपुरधाम । प्राकृतिक विनाश र जलवायु परिवर्तनका कारण भइरहेको धनजनको क्षतिप्रति ध्यानाकर्षण गराउँदै प्रकृति संरक्षणको सन्देशसहित जनकपुरधामबाट आज अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ ।
भारतका पर्यावरण संरक्षण अभियन्ता डा. अनिलप्रसाद जोशीको अगुवाइ तथा कमला जलाधार संरक्षण अभियान ‘कमला बचाउ अभियान’को संयोजनमा सुरु भएको साइकल यात्राका सहभागीलाई जानकी मन्दिर परिसरमा मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले बिदाइ गर्नुभयो ।
कूल ५२ दिनको साइकल यात्रामा सहभागीहरू धनुषाको कमलादेखि भारतको देहरादूनसम्म पुग्ने अभियन्ता डा. जोशीले जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरबाट नेपाल, भारतसहित सार्क क्षेत्रका धेरै देश प्रभावित भइरहेकाले जनता तथा विश्व समुदायलाई सचेत गराउन साइकल यात्रा सुरु गरिएको उहाँले बताउनुभयो ।
साइकल यात्रीलाई बिदाइ गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख डा. कर्णले नेपालले कार्बन उत्सर्जन नगन्य मात्रामा गरे पनि विश्वव्यापी कार्बन उत्सर्जनका कारण हिमनदी पग्लिने र ठूला प्राकृतिक विपत्ति निम्तिने अवस्था रहेको बताउनुभयो । उहाँले प्रकृति संरक्षणका लागि विश्व समुदायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रमुख डा.कर्णले साइकल यात्राले नेपाल र भारतका नागरिकलाई मात्र नभई विश्व समुदायलाई नै वातावरण संरक्षण र जलवायु परिवर्तनका असरबारे सचेत गराउने विश्वास व्यक्त गर्नुभयो ।
५२ दिनको साइकल यात्रामा आठ महिलासहित विभिन्न उमेर समूहका युवाको सहभागिता रहेको छ । यात्राका क्रममा नेपाल र भारतका नागरिकलाई जलवायु परिवर्तनका असरबाट जोगिने उपाय तथा वातावरण संरक्षणका विषयमा सचेत गराइने आयोजकले जनाएको छ ।
कमला बचाउ अभियानका अभियन्ता विक्रम यादवका अनुसार अभियानअन्तर्गत जल संरक्षण, नदीलाई सफा, सुन्दर र स्वच्छ राख्नुपर्नेलगायतका सन्देश पनि विभिन्न स्थानमा प्रवाह गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्