तपाईँ सुन्दै हुनुहुन्छः

क्यान–११ सँग पनि भुटान पराजित, विपिन खत्रीको अर्धशतकसँगै उत्कृष्ट बलिङ

पोखरा । नेपाल भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली नेपाल क्रिकेट संघ (क्यान) ११ सँग पनि पराजित भएको छ । आइसिसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि पोखरा आएको भुटानी टोली गण्डकी क्रिकेट सङ्घसँग लगातार दुई खेलमा पराजित भएसँगै आज क्यान ११ सँग पनि  १३ रनले पराजित भएको हो ।

पोखरामा बिहीबार सम्पन्न रोमाञ्चक टी–२० अभ्यास खेलमा क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रनमा सीमित हुन पुग्यो । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा क्यान–११ ले दबाबमा संयमित प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो ।

भुटानका लागि नाम्गे थिन्लेले सर्वाधिक २९ रन जोड्नु भयो क्यान–११ का बलरमध्ये विपिन शर्माले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिनु भएको हो । विपिन खत्री र युवराज खत्रीले समान २–२ विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्यो । कप्तान विपिन खत्रीले आक्रामक अर्धशतकीय पारी खेल्दै ३६ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५२ रनको योगदान दिनुभयो । ओपनर अर्जुन कुमालले २१ बलमा २ चौका र १ छक्कासहित २५ रनको योगदान दिनुभयो ।

बलिङ र ब्याटिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका विपिन खत्री प्लेयर अफ द म्याच घोषित हुन सफल हुनु भयो । नेपाल भ्रमणमा रहेको भुटानी टोलीको यो चार अभ्यास खेलमध्ये तेस्रो खेल हो । यसअघि भुटानले घरेलु टोली गण्डकीसँग खेलेका दुवै अभ्यास खेलमा पराजय बेहोरेको थियो। क्यान–११ विरुद्धको बिहीबारको खेल दुई टोलीबीचको पहिलो अभ्यास खेल हो । भुटान र क्यान–११ बीचको अन्तिम अभ्यास खेल शुक्रबार पोखरामै हुने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button