रुपन्देहीमा ३८ प्रतिशत किशोरीमा रक्तअल्पता

रुपन्देही । रुपन्देहीमा परीक्षण गरिएका करिब ३८ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका ११ हजार ४४४ किशोरीको रक्तअल्पता परीक्षण गरिएकोमा चार हजार ३२१ जनामा रक्तअल्पता देखिएको हो ।
स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स दीपा खड्काले किशोरकिशोरी उमेरमै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना र सेवामा पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक गर्नुभएको तथ्यांकअनुसार रुपन्देहीमा एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गराएका महिलामध्ये १४ जनाको मातृ मृत्यु भएको छ ।
प्रजनन स्वास्थ्यसम्बन्धी सार्वजनिक छलफलमा असुरक्षित गर्भपतन, २० वर्षभन्दा कम उमेरमा हुने गर्भधारण तथा सुत्केरी र प्रजनन रुग्णताका क्षेत्रमा सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले प्रजनन स्वास्थ्य समन्वय समितिको काम, कर्तव्य, अधिकार, योजना तथा सरोकारवालासँगको सहकार्यबाट प्राप्त हुने उपलब्धिबारे जानकारी गराउँदै प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थासँग स्वास्थ्य कार्यालयले निरन्तर सहकार्य गर्ने बताउनुभयो ।
कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले ‘समसारा’ परियोजनामार्फत रुपन्देही, कपिलवस्तु र नवलपरासीमा किशोर किशोरीको प्रजनन स्वास्थ्य तथा महिला हिंसा न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले जिल्लामा गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र महिलाको अधिकार सुनिश्चित गर्न समितिको तर्फबाट समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो छलफलमा बैठकमा भीम अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.शैलजा घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक वडाअध्यक्ष बसन्त भट्टराई, नेपाल परिवार नियोजन रुपन्देहीका प्रमुख शोभाकान्त न्यौपाने,स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डे नेपाल रेडक्रस सोसाइटीका हिराचन्द नेपाललगायतले प्रजनन स्वास्थ्य सुदृढीकरणका लागि बृहत्तर यौनिकता शिक्षालाई प्राथमिकता दिनुपर्नेमा सुझाव दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्