वामपन्थी नेता घनेन्द्र बस्नेतको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रज नेता एवं पूर्व सांसद घनेन्द्र बस्नेतको निधन प्रति एमालेका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको बताउनुभएको हो ।
भण्डारीले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक संघर्षमा बस्नेतले आफ्नो जीवनको महत्वपूर्ण समय समर्पित गर्नुभएको उल्लेख गर्नुभएको छ । राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र सामाजिक परिवर्तनका लागि संघर्ष गर्ने क्रममा उहाँले १७ वर्ष लामो जेल जीवनसहित अनेकौँ दुःख, कष्ट र कठिनाइ भोग्नुभएको भण्डारीले उल्लेख गर्नुभएको छ ।
कठोर परिस्थितिका बाबजुद पनि बस्नेत आफ्नो राजनीतिक निष्ठा र आदर्शप्रति सदैव दृढ रहनुभएको उल्लेख गर्दै भण्डारीले उहाँको सरल जीवन, निष्ठा, त्याग र निरन्तर राजनीतिक सक्रियतामार्फत नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।
भण्डारीले दिवङ्गत नेता बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचाररत हुनुहुन्थ्यो ।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिनुभएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुहुन्थ्यो । पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक संघर्ष तथा राजनीतिक आन्दोलनका क्रममा उहाँले करिब १७ वर्ष जेल जीवन बिताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्