माझी र रानामगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश
काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाडी विजय माझी र आशिष रानामगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मङ्गलवार याहागिगावा कनोइङ स्लालम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय २०२.०६ समयसहित १५ औँ र आशिष २११.८६ समयसहित १६औँ स्थानमा रहे ।
शीर्ष १८ खेलाडी सेमिफाइनल पुग्ने नियमअनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन् । सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार याहागिगावा कनोइङ स्लालम कोर्समै हुनेछ ।
त्यस्तै नेपालको एथलेटिक्स यात्रा मुकेशबहादुर पालको व्यक्तिगत समय सुधारसँगै सकिएको छ ।
पुरुष ५ हजार मिटरको फाइनलमा मुकेशले १४ मिनेट ०३.६१ सेकेन्डको समय निकाल्दै नवौं स्थान हासिल गरे । १४ मिनेट २५.५४ सेकेन्ड, मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो । त्यसमा उनले उल्लेखनीय सुधार गरे ।
नागोयामा यसपाली एथलेटिक्समा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । खडकबहादुर खड्काले म्याराथन, राजन रोकायाले १० हजार मिटर, मुकेशले ५ हजार र १५ सय मिटर, सोमबहादुर कुमालले ८ सय मिटर, सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर तथा पूर्णलक्ष्मी न्यौपानेले १५ सय र ५ हजार मिटरमा चुनौती प्रस्तुत गरेका थिए ।
सबै स्पर्धामा नेपालको चुनौती दयनीय रह्यो । यसबीच सोमबहादुरले आइतबार ८ सय मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै १ मिनेट ४८.९५ सेकेन्डको समय निकालेका थिए । आफ्नो हिटमा पाँचौँ तथा समग्रमा ८औँ भएका उनी फाइनल पुग्न भने सकेका थिएनन् ।








प्रतिक्रिया राख्नुहोस्