तपाईँ सुन्दै हुनुहुन्छः

आठपहरिया समुदायले न्वागी चाड मनाउँदै

धनकुटा । आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु गरेका छन् । 

नयाँ बाली पाकेपछि पितृ तथा कुल देवतालाई चढाएर आफूहरूले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । न्वागी चाड ६ दिनसम्म मनाउने चलन रहेको छ । भदौ शुक्ल पूर्णिमापछिको मङ्गलवारदेखि आइतबारसम्म गरेर ६ दिन न्वागी चाड मनाउने परम्परा छ । 

नयाँ बाली भित्र्याएपछि त्यसलाई पहिले कुल तथा पितृलाई चढाउने र त्यसपछि मात्रै आफूहरूले खाने चलन रहेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो । न्वागी चाडको पहिलो दिन मङ्गलवार मार्गाथान सरसफाई, दोस्रो दिन बुधबार ओमाडाम अर्थात् मार्गाथानमा कुखुराका चल्ला पूजा, तेस्रो दिन बिहीबार राँगोको भेजो लगाउने, चौथो दिन शुक्रबार भेजो मार्गाथानमा चढाउने तथा पितृ पूजा गर्ने, पाँचौँ दिन शनिबार वनभोज खाने र छैटौँ दिन आइतबार चाडको विसर्जन गर्ने चलन रहेको छ ।

आठपहरियाले वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने परम्परा छ । भदौ वा असोजमा भने वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै न्वागी चाड मनाएर कुल तथा पितृलाई नयाँ अन्न चढाउने गर्छन् । 

न्वागी चाडमा कुल पितृ तथा  मार्गा देवतासँग तिमीले वर्षा गराइदिएकाले बाली लगाएर फलाउन सफल भयौँ, अब तिमी पनि खाऊ, हामी पनि खान्छौँ भन्ने मान्यता रहेको छ। आठपहरिया समुदायले न्वागी (भदौरे), विशु (वैशाखे) र वाडाङ्मेट (मङ्सिरे) गरी तीन वटा प्रमुख चाड मनाउने गरेका छन् । यी पर्वमा आठपहरिया समुदायका २२ थलोमा रहेका २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूलो घरमा विशेष पूजा गर्ने परम्परा छ ।

तीन चाडमध्ये आठपहरियाको मुख्य चाडका रुपमा मङ्सिरे अर्थात् वाडाङ्मेटलाई लिने गरिएको छ । वर्षभरि परेको शोकलाई सामूहिक रुपमा उकास्ने तथा जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण भएको खुसीयाली मनाउने पर्वका रुपमा वाडाङ्मेट मनाइन्छ । यस अवसरमा ढोल, मारुनी, डल्लो नाच लगायतका सांस्कृतिक गतिविधि गरिन्छ भने पैसाको माला दान गर्ने चलनसमेत रहेको छ । 

त्यस्तै वैशाखमा आठ दिनसम्म विसु चाड मनाउने गरिन्छ । भूमि पूजा, देवस्थलको सरसफाइ, बलि, पितृपूजा, सामूहिक वनभोज, धनुष बाणबाट तारो हान्ने तथा बिदाइ पूजा गर्दै विसु मनाउने परम्परा रहेको किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button