‘इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युएईको गोप्य भ्रमण’

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गर्नुभएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनले यस विषयमा जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो भ्रमणबारे खुलासा गरेको हो ।
सीएनएनले दुई नेताबीचको कुराकानी मुख्य रूपमा इरानसम्बन्धी क्षेत्रीय चिन्तामा केन्द्रित भएको रिपोर्ट गरेको छ ।
तर, रिपोर्ट गरिएको यो गोप्य भ्रमणलाई समाचार तयार पार्दासम्म इजरायली प्रधानमन्त्रीको कार्यालय वा यूएई नेतृत्वले पुष्टि गरेको छैन ।
यसअघि पनि यसै वर्ष नेतन्याहूले युएईको गोप्य भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको इजरायली सैन्य अभियानका बीचमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको बताएको थियो ।
यस पहिलेको भ्रमणपछि सामाजिक सञ्जालमा इजरायली प्रधानमन्त्रीको कार्यालयको वक्तव्यलाई उद्धृत गरिएका सार्वजनिक पोस्टहरूमा भनिएको थियो, “इरानविरुद्धको कारबाहीबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गोप्य रूपमा संयुक्त अरब इमिरेट्सको भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग मध्यपूर्व युद्धका विषयमा छलफल गर्नुभएको छ ।” तर, इजरायली प्रधानमन्त्रीको कार्यालयको घोषणा लगत्तै यूएईले इजरायली प्रधानमन्त्री वा कुनै इजरायली सैन्य प्रतिनिधिमण्डलको भ्रमणसम्बन्धी रिपोर्टहरूलाई अस्वीकार गरेको थियो।
युएईको परराष्ट्र मन्त्रालयले रिपोर्टहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भनेको थियो, “यूएईले इजरायलसँगको आफ्नो सम्बन्ध सार्वजनिक रहेको र प्रख्यात तथा आधिकारिक रूपमा घोषित अब्राहम सम्झौताको ढाँचाभित्र सञ्चालित रहेको पुनःपुष्टि गर्दछ र यो गैर–पारदर्शी वा अनौपचारिक व्यवस्थामा आधारित छैन। त्यसैले, घोषणा नगरिएका भ्रमण वा खुलासा नगरिएका व्यवस्थासम्बन्धी कुनै पनि दाबी युएईका सम्बन्धित अधिकारीहरूद्वारा आधिकारिक रूपमा घोषणा नगरिएसम्म पूर्ण रूपमा आधारहीन छन्।”
रिपोर्ट गरिएको यो भ्रमण पश्चिम एसियामा जारी तनावका बीच आएको हो । इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (यूएनजीए) मा इरानको सरकार अन्ततः पतन हुने घोषणा गर्नुभएको थियो ।
उहाँले इरानको नेतृत्वलाई यसका झूट, भ्रष्टाचार र क्रूरताले ढाल्ने दाबी गर्नुभएको थियो ।
महासभामा इजरायली प्रधानमन्त्रीले इरानी जनता एक दिन आफ्नो सरकारविरुद्ध उठ्ने भविष्यवाणीसमेत गर्नुभएको थियो ।
सम्बोधनमा उहाँले भन्नुभएको थियो, “उनीहरूको हत्यारा शासन यसका झूट, भ्रष्टाचार र क्रूरताले ढालिनेछ । यो दुष्ट शासन पतन हुनेछ ।”
उहाँले भन्नुभएको थियो, “इरानमा केही अद्भुत कुरा हुन केवल केही समयको कुरा हो । जनताको शक्ति सत्तामा रहेका मानिसहरूमाथि विजयी हुनेछ ।”
इजरायली प्रधानमन्त्रीले इरानका आणविक सुविधाहरू विरुद्धको इजरायलको सैन्य कारबाहीबारे बोल्दै यसलाई देशको सुरक्षाका लागि आवश्यक निर्णय भन्नुभएको थियो ।
उहाँले केही नेताहरूको सार्वजनिक आलोचनाका बाबजुद धेरै देशहरूले इरानविरुद्धको इजरायलको कारबाहीलाई निजी रूपमा प्रशंसा गरेको पनि दाबी गर्नुभयो ।
आफ्नो सम्बोधनका क्रममा नेतान्याहूले उहाँको सम्बोधनका क्रममा बाहिरिएका प्रतिनिधिहरू र स्थलबाहिर प्रदर्शन गर्नेहरूमाथि प्रतिप्रश्न गर्दै साध्नुभएको थियो, “इरानी तानाशाहहरूले हजारौँ निहत्था इरानी नागरिकहरूलाई कत्ल र अपाङ्ग बनाउँदा तिमीहरू कहाँ थियौ?”
उहाँले उनीहरूलाई मानव अधिकारको नाममा नक्कली प्रदर्शनकारी भनेर आरोप लगाउनुभएको थियो ।
अर्कोतर्फ, इरानका राष्ट्रपति मसूद पेजेस्कियानले यस महिनाको सुरुमा तेहरानलाई संयुक्त अरब एमिरेट्स वा कुनै अन्य क्षेत्रीय देशसँग कुनै समस्या नभएको तर छिमेकी राज्यहरूमा अमेरिकी सैन्य अड्डाहरूको उपस्थितिमा आपत्ति जनाएको बताउनुभएको थियो । उहाँले वासिङ्टनलाई पश्चिम एशिया द्वन्द्वका बीच इरानविरुद्ध आक्रमण गर्न ती अड्डाहरू प्रयोग गरेको आरोप लगाउनुभएको थियो ।
केही दिन पहिले १८औँ ब्रिक्स शिखर सम्मेलनको सन्दर्भमा नयाँ दिल्लीमा इन्डिया टुडेसँगको विशेष अन्तर्वार्तामा पेजेस्कियानले खाडी राष्ट्रहरूसँगको इरानको सम्बन्ध र संयुक्त राज्य अमेरिकासँगको टकराबबिच भिन्नता देखाउँदै तेहरानले यूएई र क्षेत्रका अन्य देशका नागरिकहरूलाई दाजुभाइ मान्ने बताउनुभएको थियो ।
पेजेस्कियानले भन्नुभएको थियो, “हामीलाई युएईसँग कुनै समस्या छैन। हामीलाई कुनै पनि क्षेत्रीय देशसँग समस्या छैन । हामीलाई यी देशहरूमा रहेका अमेरिकी अड्डाहरूसँग समस्या छ, जहाँबाट उनीहरू हाम्रो देशमाथि आक्रमण गर्दैछन्।”
उक्त अवसरमा राष्ट्रपति पेजेस्कियानले भन्नुभएको थियो, “अहिले हाम्रो युएईसँग राम्रो सम्बन्ध छ र हामी यसलाई विस्तार गर्न सक्छौँ, र अन्य देशहरूसँग पनि त्यस्तै भएको छ। त्यसैले हामी सबैसँग इमानदार सम्बन्ध राख्न चाहन्छौँ ।” रासस








प्रतिक्रिया राख्नुहोस्