तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या

नवलपुर (नवलपरासी) । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो क्रुज’ अड्किएकाले निकाल्न गाह्रो भइरहेको छ । आइतबारदेखि नै प्रयास गरिए पनि अझै निकाल्न सकिएको छैन ।

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस गरिए पनि क्रेनको डोरी चुँडिएपछि अहिले काम स्थगित गरिएको उहाँले उल्लेख गर्नुभयो ।

“आज पनि दिनभर दुई वटा क्रेन र एउटा एक्साभेटरको प्रयोग गरेर क्रुज तान्ने काम गर्‍यौँ”, उहाँले भन्नुभयो, “क्रुज अड्किएको पिल्लरबाट केही माथि (उत्तर)तिर तानेपछि डोरी चुँडिदा काम स्थगित गरिएको छ ।” क्रुज तान्न चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रोप्रोजेक्टको ८० टन क्षमताको क्रेन, नारायणघाट(बुटवल सडक विस्तार आयोजनाको क्रेन तथा एउटा एक्साभेटर प्रयोग गरिएको रानाले जानकारी दिनुभयो । 

क्रुज तान्ने क्रममा पुलमाथिबाट सञ्चालन हुने सवारीसाधन आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको थियो । यसैबीच, नारायणी नदीमा गत वर्षदेखि व्यावसायिक प्रयोजनका लागि चलाइएको राइनो क्रुज बाढीले बगाएपछि सुरक्षित रूपमा पार्किङ नगरिएकामा चिन्ता व्यक्त गरिएको छ । 

नदीमा राखिएको नेपालकै एक मात्र र ठूलो क्रुज आपत्कालीन व्यवस्थापनबारे सञ्चालकले गरेको तयारीका विषयमा पनि स्थानीय प्रशासनले प्रश्न उठाएको छ । क्रुज सञ्चालन गर्ने संस्थाले प्रभावकारी रूपमा पार्किङ नगर्दा बाढी क्रुज बगाएको हुनसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो ।

राइनो क्रुजका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजलाई नारायणी नदीमा पार्किङ गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधेर राखिएको थियो । सुरक्षाका लागि क्रुजलाई २० एमएमको दुई वटा ‘टुचेन’ डोरीहरू तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसारका बाँधिएको उहाँले दाबी गर्नुभयो । यद्यपि, प्राकृतिक विपत्तिका कारण नारायणी नदीमा आएको पानीको ठूलो बहावलाई थेग्न नसकेर क्रुज बगेको उहाँको भनाइ छ । 

प्रबन्ध निर्देशक ढुङ्गेलका अनुसार क्रुजको तौल ६० टन छ । नदीमा अड्किएको क्रुज ९५ फिट लामो र २१ फिट चौडा भएकाले यसमा प्रयोग गरिएका फलाम काटेर निकाल्न पनि समस्या हुने उहाँले बताउनुभयो । उहाँले आफूहरू यसका प्रवर्द्धक मात्र भएकाले यस्तो प्राकृतिक विपद्को समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । 

आइतबार रातिदेखि पुलमा अड्किएको क्रुज निकाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका प्रमुख जिल्ला अधिकारी तथा तीन वटै सुरक्षा अङ्गका प्रतिनिधि घटनास्थलमा खटिनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button