जोखिम घटेपछि देउराली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालन खुला
हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएसँगै देउराली–सिस्नेरी सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
कुलेखानी ड्याममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले आइतबार साँझदेखि उक्त सडकखण्डमा सवारी सञ्चालन रोक्दै पूर्वसावधानी अपनाएको थियो। रातिको समयमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्न सक्ने भएकाले यातायात रोकिएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार कुलेखानी जलविद्युत् आयोजनासँगको समन्वयमा सोमबार बिहान ६ बजेदेखि सडकखण्डमा सवारी सञ्चालन खुलाइएको हो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार सोमबार बिहान ६ बजे जलाशयको पानीको सतह १ हजार ५२७ दशमलव ०७ मिटर पुगेको थियो। बिहान ५ बजे जलसतह १ हजार ५२७ दशमलव ०५ मिटर मापन गरिएको थियो।
यसअघि जलाशयको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाउने तयारी गरिएको थियो। तर वर्षा रोकिएसँगै पानीको सतह बढ्ने दर निकै घटेकाले तत्काल जोखिम नरहेको केन्द्रले जनाएको छ। त्यसकारण हालसम्म साइरन बजाइएको छैन।







प्रतिक्रिया राख्नुहोस्