लगातारको वर्षापछि खुल्दै कर्णालीको आकाश
सुर्खेत । लगातारको वर्षापछि कर्णाली प्रदेशको मौसममा क्रमिक रुपमा सुधार आउन थालेको छ ।

तीन दिनदेखिको लगातारको झरी र बादलपछि कर्णालीको आकाश बिस्तारै आज बिहानदेखि खुल्दै गएको हो । मौसम सफा हुन थालेसँगै जनजीवन सामान्य बन्दै गएको छ । अहिले हवाई तथा सडक यातायातमा परेको अवरोध पनि हट्दै गइरहेको छ ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार अविरल वर्षाका कारण प्रदेशका ७ जिल्लाका मुख्य राजमार्ग र भित्री सडकमा पहिरो गएपछि यातायात आवागमन पूर्ण रुपमा प्रभावित भएको छ । कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१, खच्चामा पहिरोले सडक पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै नाग्मा–जुम्ला सडकखण्ड अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–१, राकामा र गमगढी–नाग्मा सडकखण्ड अन्तर्गत मुगुको रारा छायानाथ नगरपालिका–६ र ७, पिनादेखि ताल्चासम्म पहिरोले सडक अवरुद्ध भएको हो । ट्राफिक प्रहरीका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–४, त्रिते डाँडामा पहिरोले सडक अवरुद्ध भएको छ ।
यस्तै भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, अन्बेदुल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । उता जाजरकोटको छेडागाड नगरपालिका–४, लेवाभिरमा पर्ने भित्री सडक अवरुद्ध भएको छ भने राप्ति राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ अरिङ्गालेमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती अवरुद्ध सडकहरूमा खसेको पहिरो हटाउने र अन्य मर्मत कार्य शुरु भइसकेको छ ।
यद्यपि, नजिकको प्रहरी कार्यालयमा सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सुझाव दिएको छ । यता प्रदेशका विभिन्न जिल्लाहरूमा अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले समेत जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्