तपाईँ सुन्दै हुनुहुन्छः

नदी तटीय क्षेत्रका बासीलाई धनुषा प्रशासनले सजग गराउँदै 

जनकपुरधाम ।  लगातारको वर्षाका कारण कमला नदी तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै धनुषाका सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दालाई सजग गराएको छ । 

जिल्ला विपद् कमाण्ड पोस्टका पदाधिकारी, स्थानीय तहका नगर प्रमुख तथा प्राविधिक कर्मचारी सहितको टोलीले कमला नदी र त्यसमा निर्माण भएको तटबन्ध सहितका पूर्वाधारको स्थलगत अनुगमन गर्दै स्थानीय बासीलाई सजग गराएको हो । 

अनुगमनका क्रममा नदीको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिँदै आवश्यक पूर्वतयारीका विषयमा छलफल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनु भयो । 

सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनासहित जिल्लाका चारवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनु भयो । उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोतसाधनलाई समेत तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

असोज ८ देखि ११ गतेसम्म वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन नदी क्षेत्रमा प्रहरीले आज बिहान देखि नै माईकिङ्ग गर्ने काम गरेको छ । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र विपद्को सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरिरहेको छ । 

स्थानीय प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई समन्वय गरी सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button