तपाईँ सुन्दै हुनुहुन्छः

धौलीगंगा बाँध खोलिने भएपछि महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह

बैतडी । भारतको पिथौरागढस्थित छिरकिल्लामा रहेको धौलीगंगा बाँध खोलिने भए पनि सुदूरपश्चिम प्रदेश अन्तरगतका महाकाली नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

आयोजनाको सिल्ट सफाइको लागि बाँध खोलिने भएकाले महाकालीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । नएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन तपोवन भारतबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सूचना प्राप्त भएको आधारमा सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाको जानकारी अनुसार बैतडीका तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जानकारी दिनुभयो । 

प्राप्त सूचनाअनुसार असोज ११ गते आइतबार राति १२ः०० बजेदेखि असोज १२ गते सोमबार बिहान १०ः०० बजेसम्म धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने उहाँले जानकारी दिनुभयो । 

बाँधको ढोका खोलिने भएपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जानकारीका लागि सूचना जारी गरिएको उहाँले बताउनुभयो । नदी तटीय क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान सूचनामार्फत आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button