काँग्रेस महाधिवेशन : सोलुखुम्बुका ५२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन
सोलुखुम्बु । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा भएको वडा अधिवेशनमा सोलुखुम्बुका ५२ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

महाधिवेशनको तालिकाअनुसार असोज ३ र ४ गते दुई दिन भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा वडा कार्य समितिहरू चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३ गते १७ वटा वडामा र बाँकी वडामा ४ गते अधिवेशन सकिएको छ । कतिपय वडामा धेरै आकाङ्क्षी देखिए पनि आपसी छलफल र सहमतिबाट नेतृत्व चयन गरिएको हो । सर्वसम्मत नेतृत्व चयनले पार्टीको आन्तरिक एकता र सहमतिको अभ्यासलाई बलियो बनाएको सभापति शेर्पाको भनाइ छ ।
प्रत्येक वडामा एक सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहितका पदाधिकारी तथा आवश्यकताअनुसार सदस्य चयन गरिएको छ । क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ ।
एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा करिब १३ सय हाराहारी क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिले अब क्षेत्रीय, जिल्ला हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागिता जनाउनेछन् ।
नेपाली कांग्रेसको विधानअनुसार पालिका तहदेखि केन्द्रीय कार्य समितिसम्मको नेतृत्व वा पदमा चुनिनका लागि क्षेत्रीय प्रतिनिधि हुनु अनिवार्य छ । केन्द्रीय सभापति स्वयंले पनि केन्द्रीय तहको राजनीतिमा प्रतिस्पर्धा गर्न क्षेत्रीय प्रतिनिधि चुनिनै पर्ने वैधानिक व्यवस्था रहेकाले तल्लो तहदेखि नै नेता–कार्यकर्ताहरू आफ्नो स्थान सुरक्षित गर्न सक्रिय रूपमा लागेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्