तपाईँ सुन्दै हुनुहुन्छः

लुक्लामा दैनिक दुई सय भन्दा बढी उडान

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आजभोलि सगरमाथा तथा अन्य हिमशृङ्खलाहरू अवलोकन गर्न आउने पर्यटकहरूको आगमनको चाप बढेपछि दैनिक रुपमा दुई सय भन्दा बढी उडान भइरहेको छ । विमानस्थलका निमित्त प्रमुख नवराज कटुवालका अनुसार लुक्लामा हेलिकप्टर समेत जोड्दा दैनिक औसतमा करिब दुई सय उडान हुने गरेका छन् ।

यो सिजनमा लुक्लामा विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढेको छ । सगरमाथा क्षेत्रको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थलमा सगरमाथा आधार शिविर, गोक्यो उपत्यका, काला पत्थर लगायतका हिमाली गन्तव्यमा जाने तथा यात्रा सकेर फर्कने पर्यटकको चहलपहल बढेको हो । पदयात्राका लागि विभिन्न देशबाट पर्यटक आउने क्रम पछिल्ला दिनमा बढेसँगै लुक्ला विमानस्थलमा यात्रुको चाप समेत बढेको हो ।

विशेष गरी नाम्चे बजार हुँदै सगरमाथा आधार शिविर जाने पर्यटकको संख्या बढेको छ । यात्रुको चाप बढ्नु र लुक्ला–काठमाडौँबिच सीमित उडान हुनुका कारण हवाई टिकट पाउन कठिन भएको छ । टिकट नपाउँदा कतिपय यात्रु विमानस्थलमै लामो समय पर्खिन बाध्य भएका छन् । लुक्लामा तारा एयर, समिट एयर र सीता एयरले नियमित हवाई सेवा सञ्चालन गर्दै आएका छन् । 

यस्तै, विभिन्न हेलिकप्टर कम्पनीले पनि खुम्बु क्षेत्रमा पर्यटक ओसारपसार तथा हिमाल अवलोकनका लागि उडान सञ्चालन गरिरहेका छन् । समिट एयरका लुक्ला प्रमुख लाक्पाकाजी शेर्पाका अनुसार पछिल्लो समय विभिन्न देशबाट पर्यटकहरू लुक्ला आउने क्रम बढेको छ । पर्यटकको प्रमुख आकर्षण सगरमाथा आधार शिविर बनेको उहाँले बताउनुभयो ।

पर्यटक आगमन बढेसँगै लुक्ला तथा आसपासका क्षेत्रका होटल, रेस्टुरेन्ट, पर्यटन गाइड, भरिया र स्थानीय व्यापारीको व्यवसायमा समेत चहलपहल बढेको छ । पदयात्राको व्यस्त मौसमले पर्यटन व्यवसायमा निर्भर स्थानीय बासिन्दाका लागि आम्दानी र रोजगारीका अवसर सिर्जना गरेको छ । यद्यपि, पर्यटकको चाप बढ्दै जाँदा कतिपय होटल तथा व्यवसायीलाई आगन्तुकको व्यवस्थापन गर्न कठिनाइ समेत हुन थालेको छ । 

शरद ऋतु सगरमाथा क्षेत्रमा पदयात्राका लागि उपयुक्त मौसम मानिने भएकाले पर्यटकको आगमन बढेको बताइएको छ । केही दिनअघि खराब भएको मौसममा सुधार भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न जहाजमार्फत आउने पर्यटकको संख्या उच्च रहेको बताइएको छ । दैनिक पाँच सयभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटकहरू लुक्लामा मात्र आउने गरेका छन् । खुम्बु क्षेत्रको बाटोमा हिँड्न समेत समस्या भइरहेको लुक्लाका तोया श्रेष्ठले बताउनुभयो ।

केही समय अघि एकोहोरो रुपमा पर्यटक आउने गरेकोमा अचेल फर्कनेको संख्या समेत उस्तै रहेको छ । यो मौसममा हरेक वर्ष लुक्ला विमानस्थलमा बढी उडान हुने गर्दछ । सिजनका बेला पर्यटकीय विमानस्थलहरूलाई पहिलो प्राथमिकतामा राखेर एयरलाइन्सहरूले उडान गर्ने भएकाले जिल्लाका अन्य विमानस्थलहरूमा भने उडान कम हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button