तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा जन्मको लैङ्गिक असन्तुलन बढ्दो

बैतडी। सुदूरपश्चिम प्रदेशमा जन्मिने नवजात शिशुको लैङ्गिक अनुपात पछिल्ला तीन आर्थिक वर्षमा क्रमशः बढ्दै गएको पाइएको छ। प्रदेशको समग्र तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रति १०० बालिकाको तुलनामा १२१ बालक जन्मिएकामा आर्थिक वर्ष २०८१/८२ मा यो अनुपात बढेर १२५ पुगेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा जन्मिने नवजात शिशुको लैङ्गिक अनुपात १२६ पुगेको छ।

तीन आर्थिक वर्षको तथ्यांक हेर्दा सुदूरपश्चिममा बालिकाको तुलनामा बालक जन्मिने दर निरन्तर बढी देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी गौर सिंह कार्कीले जानकारी दिनुभयो।

जिल्लागत तथ्यांकमा भने लैङ्गिक अनुपातमा उल्लेख्य भिन्नता देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा डडेलधुरामा सबैभन्दा बढी १३६.५९ लैङ्गिक अनुपात रहेकोमा डडेलधुराकै अनुपात पछिल्ला दुई आर्थिक वर्षमा घट्दै गएको देखिन्छ। सो जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा १२९.९३ र २०८२/८३ मा १२२.१९ रहेको छ।

बझाङमा भने तीन वर्षको अवधिमा लैङ्गिक अनुपात निरन्तर बढेको छ। आर्थिक वर्ष २०८०/८1 मा १२२.८६ रहेको अनुपात २०८१/८२ मा १२५.८५ र २०८२/८३ मा १३३.७७ पुगेको छ।

डोटीमा पनि पछिल्लो आर्थिक वर्षमा अनुपात बढेर १३३.१४ पुगेको छ। बैतडीमा २०८०/८१ मा ११७.२२ रहेको अनुपात २०८२/८३ मा बढेर १३१.९३ पुगेको छ। दार्चुलामा पनि तीन वर्षमा अनुपात १११.४१ बाट बढेर १२६.३९ पुगेको तथ्यांकमा उल्लेख छ।

प्रदेशको समग्र तथ्यांकले भने सुदूरपश्चिममा जन्मिने शिशुको लैङ्गिक अनुपातमा बालकको संख्या बढी रहेको र पछिल्ला तीन आर्थिक वर्षमा यस्तो अनुपात थप बढ्दै गएको देखाएको छ।

भ्रूण पहिचान गरी छोरा भए राख्ने र छोरी भए फाल्ने घटना बढ्दै गएकाले असन्तुलन बढ्दै गएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी कार्की बताउँछन्। “अल्ट्रासाउन्ड सेवा सहजै उपलब्ध छ, भ्रूण पहिचान गरेर एभोर्सन गराउने क्रम बढ्दो छ, छोराछोरीबीचको बढ्दो असमानताका कारण यसले सामाजिक असर बढ्ने देखिन्छ,” सूचना अधिकारी कार्कीले भन्नुभयो।

सामाजिक प्रचलनका कारण छोरा जन्मिने दर बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडा बताउँछन्। “छोरा भयो भने राख्ने, नत्र भने एभोर्सन गराउने—यो प्रचलन बढ्दो देखियो,” प्रमुख ओखेडाले भन्नुभयो। सामाजिक सचेतनाका लागि स्वास्थ्य कार्यालयले वर्षैपिच्छे काम गर्ने गरेको प्रमुख ओखेडाले बताउनुभयो। छोरी मात्रै भएर बसेका पर्याप्त व्यक्तिहरू हाम्रो समाजमा रहेकाले उनीहरूलाई ‘रोल मोडल’का रूपमा अघि सारेर काम गर्न सकिने समेत प्रमुख ओखेडाको भनाइ छ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको स्वास्थ्य कार्यालय बझाङका तथ्यांक अधिकृत कटक सार्कीले बताउनुभयो। “लिङ्ग पहिचान गरेर गर्भपतन गराउने प्रवृत्ति बढ्यो, छोरा भए ठिक छ, होइन भने गर्भपतन गराउने, यस्तो चलन बढ्यो,” तथ्यांक अधिकृत सार्कीले भन्नुभयो।

लैङ्गिक अनुपातमा देखिएको यस्तो असन्तुलन लामो समयसम्म कायम रहेमा भविष्यमा जनसांख्यिक तथा सामाजिक संरचनामै असर पर्न सक्ने सरोकारवाला पक्ष बताउँछन्।

कानुनी प्रावधान र अवस्था:

  • भ्रूणको लिङ्ग पहिचान निषेध: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले गर्भवती महिलालाई डर, त्रास, प्रभाव वा प्रलोभनमा पारी लिङ्ग पहिचान गर्न वा गराउन पूर्ण प्रतिबन्ध लगाएको छ।
  • अपराधको रूपमा वर्गीकरण: मुलुकी अपराध संहिता, २०७४ अनुसार लिङ्ग पहिचान गरी गर्भपतन गराएमा संलग्न स्वास्थ्यकर्मी र परिवारलाई ३ महिनादेखि १ वर्षसम्म कैद सजायको व्यवस्था छ।
  • कार्यान्वयनमा फितलोपन: कडा कानुनी प्रावधान भए तापनि अनुगमनको अभाव र कानुन कार्यान्वयन गर्ने निकायको फितलोपनले गर्दा यो अभ्यास भित्री रूपमा लुकेर भइरहेको छ।

विवाह बजारमा सङ्कटदेखि जनसांख्यिकीय जोखिम:

  • बालिकाको संख्यामा कमी आउँदा पुरुषहरूले विवाहका लागि जीवनसाथी नपाउने र विवाह बजारमा गम्भीर असन्तुलन पैदा हुने जोखिम बढेको छ।
  • महिलाको अभावले गर्दा समाजमा जबरजस्ती विवाह, बेचबिखन, अपहरण, र यौनजन्य हिंसाका घटनाहरू तीव्र रूपमा बढ्ने जोखिम रहन्छ।
  • लामो समयसम्म यस्तो असन्तुलन कायम रहेमा समग्र जनसंख्या वृद्धिदर प्रभावित हुने र सामाजिक सुरक्षामा असन्तुलन आउने खतरा हुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button