तपाईँ सुन्दै हुनुहुन्छः

एनएसजेएफ गण्डकीलाई प्रथम गण्डकी प्रदेश स्तरीय मिडिया कप फुटसलको उपाधि

पोखरा । पोखरामा पहिलोपटक आयोजना भएको ‘गण्डकी प्रदेशस्तरीय प्रथम मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ । 

शनिबार पोखरा रंगशालाको मल्टिपर्पोज हलमा भएको फाइनलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई २–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । एनएसजेएफ गण्डकीका तर्फबाट प्रवेश पोखरेल र सुशान्त गाहामगरले एक–एक गोलको योगदान दिए । उपाधिसँगै एनएसजेएफ गण्डकीले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा, आयोजक नयाँ लिपि, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र लेखनाथ पत्रकार मञ्च गरी चार टोलीको सहभागिता रहेको थियो । 

लिग कम नकआउट अवधारणामा सञ्चालन भएको प्रतियोगितामा एनएसजेएफ गण्डकी र बागलुङ समान ७ अङ्कसहित फाइनलमा पुगेका थिए । समूह चरणमा दुवै टोलीले आयोजक नयाँ लिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेका थिए भने आपसमा भएको खेल बराबरीमा टुङ्गिएको थियो ।

प्रतियोगिताको आयोजना कल्प मिडिया मल्टिपर्पोज प्रालिले गरेको हो । नयाँ लिपिका सञ्चालक तथा कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठको पहलमा आयोजित प्रतियोगिताबाट प्राप्त रकम हालै भोटेकोशी बाढीबाट प्रभावितहरूको राहतमा खर्च गरिने आयोजकले जनाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button