तपाईँ सुन्दै हुनुहुन्छः

सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

बारा । सिमरा भेट्रान क्लबको आयोजनामा असोज १० देखि १७ गतेसम्म सिमरा रङ्गशालामा ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ ।

रात्रि समयमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । प्रतियोगितामा एपीएफ, आर्मी, पुलिस, फेयर फुटबल धरान, वसन्तपुर युनाइटेड चितवन, भारतका कुर्सेङ गोल्स र झारखण्ड स्टेट स्पोर्टस् प्रमोसन सोसाइटी तथा आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने प्रतियोगिताको संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका र मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेका छन् । टिकटबाट सङ्कलित रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button